Aamsanchar

आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण

Author Image
मङ्गलवार, चैत १५, २०७३

पोखरा ।

पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका वक्ताले नेपालको आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।

नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पर्यटन राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भएको बताउँदै यहाँका सम्भावनालाई उजागर गर्न सरकार एवम् निजी दुवै क्षेत्रको सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकास, राम्रो शिष्टाचार, स्वस्थकर खाना आदिको अपरिहार्यता भएको उल्लेख गर्दै पर्यटकीय विकासका क्रममा वातावरणीय सन्तुलनलाई पनि दृष्टिगत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालको आर्थिक विकासका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने क्षेत्रीय प्रशासक खतिवडाले बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरकारका नीति पर्यटनमैत्री हुनुपर्ने बताउँदै राजनीतिक अस्थिरताका कारण प्रभावित यस क्षेत्रको विकास आसन्न स्थानीय तहको निर्वाचनसँगै सकारात्मक मार्गमा जाने बताउनुभयो । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटन सम्बद्ध व्यवसायी एवम् संस्था एकाकार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको कुल अर्थतन्त्रमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुन नसकेको अवस्थालाई दृष्टिगत गरी देशको अर्थतन्त्रमा योगदान गर्न सक्ने तवरबाट यसको विकास अघि बढ्नुपर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले पर्यटन सम्बद्ध सबै व्यवसायी एकजुट भएर लागेमा देशको पर्यटकीय विकासका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने धारणा राख्नुभयो ।  पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले देशको समग्र पर्यटनमा योगदान गर्ने तवरबाट परिषद्ले आफ्ना गतविधि अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, संस्थापक अध्यक्ष अशोक पालिखेलगायतले पोखराका पर्यटकीय सम्भावना र पोखरा पर्यटन परिषद्को भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।

उक्त अवसरमा पोखराको पर्यटकीय विकासमा योगदान गर्ने विभिन्न संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर