Aamsanchar

नेपाल फिलिपिन्ससँग ४-१ गोल अन्तरले पराजित

Author Image
मङ्गलवार, चैत १५, २०७३

काठमाडौं,

एसिया कप छनौट फुटबल अन्तर्गत मंगलबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ ।

मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ औँ मिनेटमा फिलिपिन्सले अग्रता बनाएको थियो । रबिन श्रेष्ठले डिबक्स भित्र फल गरेपछि फिलिपिन्सले पाएको पेनाल्टी सदुपयोग गरेको हो । यसअघि १३ औँ मिनेटमा डिबक्स भित्र बिक्रम लामाको ह्याण्ट बल भएपछि फिलिपिन्सले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण चेमजोङले जोगाएका थिए । तर बिक्रम लामा रेड काड पाएर बाहिरिनु नेपालका लागि घातक साबित भयो ।

पहिलो गोलको लगत्तै २३ औँ मिनेटमा अर्को फिलिपिन्सले अर्को गोल गरेको थियो । २८ औँ मिनेटमा फिलिपिन्सले तेस्रो गोल गर्यो । अञ्जन बिष्टको स्थानमा २९ औँ मिनेटमा मैदान प्रवेश गरेका विशाल राईले पहिलो हाफको अन्तिममा एक गोल गरे । खेलको ७२ औँ मिनेटमा फिलिपिन्सले चौथो गोल गर्यो । पहिलो हाफमा धरमराएका नेपाली खेलाडीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका थिए ।

एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो । नेपाली टोलीका कप्तान विराज महर्जन मंगलबारको खेलमा थिएनन् । उनको ठाउँमा कमल श्रेष्ठलाई राखिएको थियो । फिफा वरियतामा फिलिपिन्स नेपालभन्दा ४६ स्थान माथि छ । वरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छन् । मंगलबारसहित फिलिपिन्ससँगका पछिल्ला चार खेलमा नेपाल पराजित भएको छ ।

नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर