Aamsanchar

इलामको वन तस्करी गर्न झापामा योजना

Author Image
बुधवार, चैत १६, २०७३

[तोयानाथ भट्टराई]

इलामः

इलामको चुरेक्षेत्रमा रहेको वन दोहन अझै रोकिएको छैन । आइतबार राति साइकलमा सालका काठ तस्करी गरिरहेका ८० जनाको समूहले वन रक्षकको समूहलाई चुलाचुली गाउँपालिकाको रतुवाखोला चेप्टीमा आक्रमणसमेत गरेको छ । उक्त घटनामा वन रक्षकहरूले सात राउन्ड हवाई फायर गर्दा पनि केही नलागेपछि झापाको बेलडाँगीबाट सशस्त्र प्रहरी बल बोलाइयो । त्यसपछि तस्करहरू साइकल र काठ छाडेर भागे ।

चुरेमा पछिल्लो समय यस्ता घटना सामान्य बन्दै गएका छन् । वन रक्षकलाई आक्रमणको खतरा बर्सेनि बढ्दो छ । त्यसैले यस्तो अवस्थामा अहिलेको जनशक्तिले चुरेको वन रक्षा गर्न कठिन हुने जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठको भनाइ छ ।

३३ जना सशस्त्र वन रक्षकको दरबन्दी रहेको इलाममा अहिले सातजना मात्र स्थायी वन रक्षक छन् । थप १३ जना करारमा राखेर काम चलाइरहेको उनले बताए । हतियारसहितका वन रक्षक फौज तराई र चुरेको वनमा मात्र खटाउने गरिएको छ ।

वन रक्षक (जोसँग हतियार हुँदैन) पनि इलाममा दरबन्दीअनुसार छैन । इलाममा रहेको ४६ जनाको वन रक्षकको दरबन्दीमा ३९ जनाले मात्र काम गरिरहेको श्रेष्ठको भनाइ छ । चुरेको वन सुरक्षाका लागि निकै ठूलो सुरक्षा फौज आवश्यक पर्ने उनी बताउँछन् । ‘अहिलेको जनशक्तिले चुरेको वन सुरक्षा सम्भव छैन’, उनले भने ।

इलामको वन तस्करीका लागि झापाको दमक, बिर्तामोडसहितका सहरमा तस्करहरूको ठूलो सञ्जाल रहेको उनको दाबी छ । ‘वनमा भेटिएका कामदार मात्र हुन्’, उनले भने । तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र झापा पुर्‍याउने छुट्टै समूह प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् ।

तस्करहरूले झापामा बसेर लगानी गर्ने गरेको श्रेष्ठको भनाइ छ । जति केरकार गर्दा पनि पक्राउ परेकाहरूले मुख्य तस्करको पहिचान नखुलाउने उनले बताए । साउनयता मात्र जिल्ला अदालत इलाममा नौवटा वन तस्करीका मुद्दा दायर गरिएको छ । यी मुद्दामा जिल्ला वन कार्यालयले ३० जनाविरुद्ध उजुरी दर्ता गराएको छ । त्यसमध्ये १८ जना फरार छन् भने १२ जना थुनामा रहेको जिल्ला वन कार्यालय इलामले जनाएको छ । अधिकांश मुद्दा चुलाचुली गाविसका छन् । अभियुक्त भने चुलाचुली गाविस र झापाका रहेको जिल्ला वन कार्यालयको भनाइ छ ।

१० हजार बिगोमाथिको वन मुद्दा जिल्ला अदालतले हेर्ने गरेको छ । जिल्ला वन कार्यालयमा १० हजारसम्म बिगो भएका १२ वटा मुद्दा परेका छन् । तीमध्ये सातवटा मुद्दा फैसला भएका छैनन् । वनमा परेका सबै मुद्दामा पनि झापाको खुदुनाबारी, इलामको चुलाचुलीलगायतका बासिन्दा छन् ।

जिल्ला अदालत इलाममा चैत २०६६ देखि असार २०६८ सम्ममा नौवटा मुद्दा दायर भएका थिए । सामुदायिक वनबाट वन कार्ययोजनाविपरित अवैध रूपमा सालका रूख फडानी कार्य तीव्र छ । सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो भएको समेत पाइएको छ ।

वन तस्करीको बाटो

माईखोलाको बगरमा अहिले हरिया रूखका गोलिया सुकाएर राखेको देखिनु सामान्य बनेको छ । इलामको महमाई र दानाबारीका जंगलका काठ झापाको सतासीधाम ८ हुँदै झापा, मोरङ र भारतसम्म पुर्‍याउने गरिएको छ । सशस्त्र प्रहरीबल इलामका अनुसार वन तस्करले दानाबारी-८, पाल्टार-१ सितलु, दानाबारी-२ शुक्रबारे, दानाबारी-३, झपाको खुदुनाबारी-८ र शनिश्चरे-८ हुँदै बिर्तामोड पुर्‍याउने गरेका छन् ।
महमाई र बाँझोका बीचमा पर्ने तीन दोभानेबाट कुल्लीको सहायतामा झापाको तोपगाछीको बाटोबाट पनि काठ तस्करी हुने गरेको पाइएको छ ।-अन्नपूर्णबाट

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर