Aamsanchar

योगीबाट सिक्ने कि !

Author Image
बिहिवार, चैत १७, २०७३

एकराज गिरी,
‘हिन्दू राष्ट्र नेपाल’ नामक पुस्तकका लेखक तथा नेपाल हिन्दू राष्ट्रको रुपमा रहनुपर्ने वकालत गर्दै आएका योगी आदित्यनाथ अर्थात् अजय सिंह नेपालको सीमा जोडिएको भारतको शक्तिशाली प्रदेश ‘उत्तर प्रदेश’ को मुख्यमन्त्री बनेपछि विभिन्न आँकलनसँगै उनको कार्यशैलीलाई नेपाल–भारतमा विशेष चासोका साथ हेर्न थालिएको छ ।

२६ वर्षकै उमेरमा लोकसभामा कान्छो सांसद बनेका उनी भारतीय जनता पार्टी (बीजेपी)बाट ४४ वर्षको उमेरमा भर्खरै मुख्यमन्त्री बनेका हुन् ।  योगी मुख्यमन्त्री भएपछि नेपाललाई हिन्दू राष्ट्र कायम गराउने उनको मुद्दा कसरी अघि बढ्छ, नेपाली राजनीतिमा उनको के प्रभाव रहन्छ त्यो आफ्नै ठाउँमा छ । यस्ता प्रश्न उठिरहेका बेला आफ्नै प्रदेशमा सकारात्मक परिवर्तनका लागि भने उनले पाँच महत्वपूर्ण निर्णय लिएको सार्वजनिक भएको छ ।
सरकार सम्हालेको एकसातामै सबै मन्त्रालयको निरीक्षण गरी योगीले गरेको निर्णय प्रदेश र जनसेवाको हितमा देखिन्छ ।

उनको निर्णयबाट नेपाली प्रशासक र राजनीतिकर्मीले पनि सकारात्मक पाठ सिक्नुपर्ने देखिन्छ । योगीले इमान्दारपूर्वक काम गर्न नसक्ने आफ्नै मन्त्रालयका ५० जना अल्छी अफिसरलाई निकालेका छन् । फास्टट्रयाकमा काम गर्न सक्षम र २० घण्टासम्म खट्न सक्ने कर्मचारीको आवश्यकता औल्याइएको छ । यसअघि काम नसके घरमा फायल लगेर सक्ने बानीको अन्त्य गर्न, अफिसको काम अफिसमै सक्न निर्देशन दिँदै सयदिनको कार्ययोजना सार्वजनिक योगीको दोस्रो निर्णय हो । तेस्रो निर्णय सरकार कर्मचारीलाई जिन्स र टि–सर्ट लगाउन प्रतिबन्ध तथा शिक्षकलाई मोबाइल बोक्न प्रतिबन्ध हो ।

जिन्स र टिसर्ट लगाउने कर्मचारीको एकदिनको तलब काटिने जनाइएको छ । चौथो निर्णय सरकारी कार्यालय सधैं सफा हुनुपर्ने र पाँचौंमा भ्रष्टाचाररहित प्रदेशका लागि कर्मचारी इमान्दार हुनुपर्ने रहेको छ । प्रदेशमा सुशासन, शान्ति, विकास र समृद्धिका लागि योगीको निर्णयले सकारात्मक सन्देश प्रवाह गरेको छ। उनीप्रतिको आश र भरोसा बढेको प्रदेशबासीले प्रतिक्रिया दिएका छन् ।

राम्रो कामको सफल अभ्यास जहाँ जसले, जहिले पनि अनुशरण गर्न सक्छ । सफल अभ्यासलाई व्यवहारमा देखाउन सक्यो भने त्यसले परिवर्तन ल्याउँछ । त्यस्तो अभ्यास र व्यवहार नेपालमा पनि आवश्यक छ । नेपालका कर्मचारी अल्छी छन्, आज हुने काम भोलि, पर्सी भनेर सास्ती दिन्छन् । घुस, भ्रष्टाचार मौलाएको छ । योजनाबिनै काम अघि बढेका छन् ।

कर्मचारी इमान्दार छैनन्, अधिकांश भ्रष्ट र घुसखोरी छन् । सरकारी कार्यालय अधिकांश फोहोर र दुर्गन्धित छ । पोशाकको पालना खासै पाइँदैन । शिक्षक मोबाइल र राजनीतिमा व्यस्त । अस्त–व्यस्त र विकृति छ । यो अवस्थामा सुधार आवश्यक छ । नेपालसँग सीमा जोडिएको भारतकै शक्तिशाली प्रदेश ‘उत्तर प्रदेश’का मुख्यमन्त्री योगीको कार्यशैलीबाट नेपाली प्रशासक राजनीतिकर्मीले पनि केही सिक्ने कि !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर