Aamsanchar

वन कार्यालयले उपभोक्ता समिति माथि छानविन गर्ने

Author Image
शुक्रवार, चैत १८, २०७३

भद्रपुर।

जिल्ला वन कार्यालय झापाले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति माथि छानविन गर्ने भएको छ ।

आमसञ्चारमा समाचार प्रकाशित भएपछि वन कार्यालयले समिति माथि छानविन गर्न लागेको हो । समितिका केही पदाधिकारीले गोलिया दाउरा भन्दै काठ बिक्री गरेको घटना प्रकरण सार्वजनिक भएलगतै वन कार्यालय झापाले छानविन समिति गठन गरेको छ ।सेक्टर वन कार्यालय जलथलका प्रमुख कमलदेव चौधरी र निचाझोडा रेञ्जर पोष्टका राजन राईलाई छानविन समितिमा राखिएको वन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला वन अधिकृत बोधराज सुवेदीले दिनु भएको जानकारी अनुसार उपभोक्ताको अधिकार बाहिर गएर समितिले बेचेको काठ दाउराको लगत संकलन, बील भौचर र समितिका निर्णय प्रकृया लगायत आवश्यक कागजातको स्थलगत अनुसन्धान गरेर कार्वाही प्रकृया अगाडी बढाउने अधिकार समितिलाई दिएको बताए । गठित समितिलाई यथाशिघ्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न लिखित आदेश दिइसकेको सुवेदीले बताए ।

छानविनको प्रक्रियामा गलत ठहरीए वन ऐन अनुसार कार्वाही गरिने उनको भनाई छ । पछिल्लोपटक घाट गद्दी खाली गर्ने बाहनामा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईको निर्देशनमा सचिव सन्तोष पोखरेलले दाउरा भन्दै गोलिया काठ स्थानीय व्यापारी राजु खड्का, रत्नबहादुर भण्डारी र गणेश भण्डारीलाई प्रति चट्टा २५ हजारका दरले विक्री गरेको घटनाको खुलासा उपभोक्ताले यस्तो आरोप लगाएका हुन् ।

स्थानीय शेखर कडेलको काष्ठ फर्निचरमा दई टयाक्टर दाउरा भन्दै गोलिया काठ फेला परेको थियो । मिलमा बिना कागजातको काठ फेला परेको समाचार आएपछि वन कार्यालयले काठ चिर्न रोक लगाई सकेको छ ।

Views: 182

प्रतिक्रिया (०)