Aamsanchar

एमाले झापाको दश दिने म्याद

Author Image
बुधवार, चैत २३, २०७३

झापा ।

आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ ।

पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै गाउँपालिका र नगरपालिका तथा वडाका उम्मेदवारको सिफारिस गर्न १० दिनको समयसीमा निर्धारण गरेको छ ।

गाउँपालिका र नगरपालिका बिजोडी वडामा चैत २७ गते र जोडी वडामा चैत २८ गते बैठक बसेर वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको लागि उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन गरेको हो ।

त्यस्तै, गाउँपालिका र नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष र मेयर–उपमेयरका उम्मेदवारको नामावली सिफारिस गर्न गाउँ–नगर सङ्गठन कमिटीलाई वैशाख ३ गते बैठक बस्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रले निर्धारण गरेको मापदण्डसँगै स्थानीय पार्टी कामसमेतलाई आधार मानी उम्मेदवारको नाम सिफारिस गर्न अन्तरपार्टी निर्देशन जारी गरेको जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिनुभयो ।

जिल्ला पार्टीले मातहतका कमिटीलाई धेरैजनाको नाम सिफारिस नगर्न पनि सुझाएको छ । जिल्ला पार्टी कार्यालयका सचिव शिव ढुङ्गेलका अनुसार मातहत कमिटीले सकेसम्म एक÷एक जनाको नाममात्र निर्णय गरी अनुमोदनका लागि जिल्लामा पठाउन निर्देशन गरिएको छ ।

पार्टी स्थायी कमिटीको निर्णयअनुसार वडा कमिटीबाट सिफारिस गरिएका नामावलीमध्ये वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला दुई सदस्यको उम्मेदवार जिल्ला कमिटीले निर्णय गर्नेछ ।

यस्तै, नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने प्रावधान बनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)