भद्रपुर।

झापामा स्थानीय तहमा निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब ५ हजार कर्मचारीको आवश्यकता पर्ने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापाको ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा तोकिएको २ सय ८३ मतदान स्थलमा लगभग ६ सय ५० मतदान केन्द्र हुनेछन् । एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र दुई सहयोगी कर्मचारी गरी सातदेखि आठ जनासम्म कर्मचारी चाहिने भएकोले करिव ५ हजार कर्मचारीको आवश्यकता देखिएको निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।
निजामती कर्मचारी २ हजार २ सय ४२, संस्थान कर्मचारी ६ सय ९८, मावि, निमावि र प्राविका शिक्षक ३ हजार ६ सय ६९ जना गरी ६ हजार ६ सय ९ जना कर्मचारीको विवरण तयार पारिसकेको कार्यालयले जनाएको छ । यसमध्ये मेडिकल र अति आवश्यक कार्यालयका कर्मचारीको हकमा आवश्यकता अनुसार खटाइने छ ।

शिक्षकको हकमा मावि तहलाई मतदान अधिकृत र निमावि तहका सहायक मतदान अधिकृत र प्रावि तहका सहायक कर्मचारीको रुपमा खटाइने तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । अशक्त र बिरामी भएका कर्मचारी र शिक्षकलाई भने निर्वाचनमा नखटाइने निर्वाचन अधिकारी आचार्यले बताए ।
झापामा २ लाख ५३ हजार ४ सय १५ पुरुष र २ लाख ५६ हजार ७ सय ९८, तेस्रो लिङ्गी तीन जना गरी ५ लाख १० हजार २ सय १६ मतदाता रहेका छन् । यसअघिको संविधानसभाको निर्वाचनमा झापामा ४ लाख ५४ हजार ४ सय ७६ मतदाता रहेका थिए ।

