Aamsanchar

अलैंची व्यवसायी वंशल रहेनन्

Author Image
बुधवार, चैत २३, २०७३

बिर्तामोड।

नेपाल अलैंची व्यवसायी महासंघका सल्लाहकार लक्ष्मीनारायण वंशलको ८३ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनदेखि सामान्य अस्वस्थ देखिएका वंशलको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । झापाको  बिर्तामोडस्थित भद्रपुररोड निवासी उनी पुराना अलैंची व्यवसायीका रुपमा परिचित छन् ।  पूर्वी पहाडको ताप्लेजुङ र इलाममा व्यवसाय थालनी गरेका वंशल बिर्तामोडमा पहिलोपटक अलैंची भित्र्याउने व्यवसायीमध्येका एक हुन् । बिर्तामोड तयारी अलैंचीको भण्डारणस्थल मानिन्छ । बिर्तामोडबाटै अलैंची निर्यात हुने गर्दछ ।
वि.सं १९९० सालमा ताप्लेजुङको पाख्रेबुङमा जन्मिएका लक्ष्मीनारायण व्यवसायी मात्र नभई धार्मिक प्रवृत्ति तथा सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित थिए । उनले बिर्तामोडमै विभिन्न धार्मिक संघ–संस्था, शैक्षिक संघ–संस्थालाई उल्लेख्य सहयोग गरेका छन् भने जन्मस्थल ताप्लेजुङ, पहिलो कर्मथलो इलाममा पनि विभिन्न क्षेत्रमा सक्दो सहयोग पुर्याएको बताइन्छ ।
नेपाल अलैंची व्यवसायी महासंघका सल्लाहकार श्याम वंशलका पिता, महासंघका पूर्व कार्यकारिणी सदस्य सुजीत वंशलका पिता लक्ष्मीनारायणका चार छोराबुहारी श्याम–सरोज, रोहतास– सीता, पप्पु–उषा र दिलीप–श्वेता वंशल रहेका छन् । तीन छोरी सुशीला, गायत्री र रेखा छन् भने सात नाति, सुजीत, सुरज, रोनक, आशिष, मोहित केशव र येशु, दुई नातिनी पूजा र नैना, तीन पनाति सुयोग, शिवेश, निशान्त, तीन पनातिनी राधिका, यश्वी र युविका रहेका छन् । इलाम–१ निवासी सावरमल अग्रवालकी छोरी कलावतीसँग बैबाहिक बन्धनमा बाँधिएका लक्ष्मीनारायणसँग माइला छोरा रोहतास बस्दै आएका थिए ।
लक्ष्मीनारायणको अवसानप्रति नेपाल अलैंची व्यवसायी महासंघले गहिरो दःुख व्यक्त गरेको छ । महासंघका अध्यक्ष निर्मल भट्टराई, महासचिव ओमकृष्ण बिमली, अलैंची व्यवसायीहरु मंगलबार घरमै पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।अध्यक्ष भट्टराईले अलैंची व्यवसाय क्षेत्रले एक असल अभिभावक, पथप्रदर्शक गुमाएको प्रतिक्रिया दिँदै उनको शालीन व्यक्तित्व, इमान्दार एवम् व्यवसायिक जीवन सबै व्यवसायीका लागि अनुकरणीय रहने बताए ।
लक्ष्मीनारायण वंशललाई महासंघले दोस्रो साधारणसभाको अवसरमा अग्रज व्यवसायीको रुपमा सम्मान पनि गरेको थियो । उनको मंगलवार नै कनकाईमाईमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)