Aamsanchar

कसले नियन्त्रण गर्ला भुस्याहा कुकुर ? काँकरभिट्टामा रेविजको त्रास

Author Image
बिहिवार, चैत २४, २०७३

काँकरभिट्टा।

झापाको मेचीनगर नगरपालिका क्षेत्रमा छाडा (भुस्याहा) कुकुरको कारण रेविजको त्रास बढेको छ ।
काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी लगायतका क्षेत्रमा छाडा कुकुरका कारण रेविज रोगको संक्रमण फंैलने त्रास बढेको स्थानीयवासीले बताएका छन् । स्थानीय निकायले छाडा (भुस्याहा) कुकुरको नियन्त्रण गर्न नसक्दा यो समस्या बढेर गएको सरोकारवालाले बताएका छन् ।
छाडा छोडिएका (भुस्याहा) कुकुरको समस्याका कारण बिहान–बेलुका सर्वसाधारणलाई हिँड्डुल गर्न समेत समस्या भएको बताइन्छ । स्थानीय दीपेन्द्र कार्कीले केही वर्ष अघिसम्म यस क्षेत्रमा छाडा (भुस्याहा) कुकुरको नियन्त्रणका लागि अभियान सञ्चालन गरे पनि हाल केही नगरेका कारण समस्या बढेको बताउँछन् ।
काँकरभिट्टा बजारमा अहिले दिनानुदिन  छाडा (भुस्याहा) कुकुर मर्न थालेपछि स्थानीयमा त्रास फैलिएको हो । कुकुर मर्नु अघि त्यस्ता कुकुरले पशु चौपायालाई टोक्ने गरेकाले रेविजको त्रास फैलिएको छ । पछिल्लो एक सातामा काँकरभिट्टा क्षेत्रमा मात्रै एक सय भन्दा बढी चौपायालाई कुकुरले टोकेको र ती चौपायालाई रेविजविरुद्धको भ्याक्सिन लगाएको बताइएको छ । जिल्ला पशु सेवा कार्यालय झापाले चौपायालाई रेविजविरुद्धको भ्याक्सिन लगाउने कार्य गर्दै आएको छ ।
झापामा एक वर्षमा छाडा (भुस्याहा) कुकुरको  टेकाइबाट ३५ वटा पशु चौपाया मरेको पशु सेवा कार्यालका चिकित्सक इन्द्रदेव साहले बताए । छाडा (भुस्याहा) कुकुरको समस्या बढेपछि अहिले दिनहुँ आफ्नो नम्बरमा फोन आउने गरेको साहको भनाइ छ ।
भद्रपुर र बिर्तामोड नगरपालिकासँगको सहकार्यमा कुकुरको बन्ध्याकरण कार्यक्रम पशु सेवा कार्यालयले केही महिनाभित्र चलाउने उनी बताउँछन् । दिनानुदिन छाडा (भुस्याहा) कुकुरको  समस्या बढेर जाँदा समेत मेचीनगर नगरपालिकाले कुनै चासो नदेखाएको मेची सामुदायिक केन्द्रका अध्यक्ष बुद्धिनाथ पोडेलले आरोप लगाए ।
सडकका पेटी तथा घरको आसपासमा रातिको समयमा यस्ता कुकुरहरु हुलका हुल बसेका हुन्छन्, रातको समयमा सडकमा आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीय डेनी न्यौपाने बताउँछन्  ।

Views: 374

प्रतिक्रिया (०)