Aamsanchar

बायोस्याण्ड फिल्टर पद्धति ल्याएपछि विद्यार्थी दङ्ग

Author Image
शनिवार, चैत २६, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,

करीब १० वर्ष अघिको संस्मरण गर्दै राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थी उक्त विद्यालयका कोठा कोठा चाहर्दै भन्दै थिए। कुनै समयमा हामी यस विद्यालयमा पढ्दा पानीको निम्ति लाइन बस्नुपथ्र्यो । त्यो पनि स्वच्छ थिएन, धाराको त्यही पनि जंगलको । त्यति मात्र कहाँ हो र पानीको लाइनमा बस्दा पढाइ नै छाडिन्थ्यो ।

हो, ती पुराना विद्यार्थी महानन्द नेपाल त उक्त विद्यालयका एक प्रतिनिधि पात्र मात्र हुन्, जसले पानी पिउनकै निम्ति कि त अर्काको घरमा धाउनुपथ्र्यो, कि त धाराको पानी त्यही पनि दुषित ।तर, समय वदलिइ सकेको छ, विद्यालयमा गठित बालक्लबले विद्यार्थीहरुका निम्ति भनि कक्षाकोठामा नै स्वच्छ पानीको व्यवस्थापन गरेको छ । उक्त विद्यालयमा आ.व. २०७२÷०७३ सालको बजेट अन्तर्गत शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा बायोस्याण्ड फिल्टर पद्धति ल्याएपछि विद्यालयले आमूल रुपान्तरणको संकेत गरेको छ । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन भएको छ ।

विद्यालय समयमा खानेपानीको निम्ति बालबालिका कक्षाकोठा बाहिर बारम्बार निस्कनु पर्ने स्थितिलाई निर्मूलीकरण गर्न कक्षाकोठामै खानेपानी व्यवस्था गर्ने जगहरुको समेत व्यवस्थापन गरिएको छ । कक्षाकोठामा पानी आपूर्ति गर्न विद्यार्थीहरुले नै रोल नंं अनुसारको पालो प्रणाली लागू गरेका छन् । यस अघि करीब ५ सय भन्दा बढी विद्यार्थीहरुका लागि मात्र २ वटा ट्युबेलहरु भएता पनि बारम्बार विग्रिने तथा चोरी हुने भएकाले विद्यार्थी तथा विद्यालयका निम्ति बिकाराल समस्या रहँदै आएको थियो ।

कतिसम्म भने कोही बेला बालबालिकाहरुले घरघरबाट समेत आफ्नो निम्ति बोतलमा खानेपानी बोकेर ल्याउनु पर्ने स्थिति थियो । यसैगरी, विद्यालयले हाल आएर प्रत्येक कक्षाकोठामा सिलिङ फयानको व्यवस्था गरेको छ । विद्यालयमा वालमैत्री वातावरण सिर्जना गर्ने भनि राज्यले विभिन्न कार्ययोजनाहरु सार्वजनिक गरेता पनि सामुदायिक विद्यालयमा त्यसको प्रभाव शून्य रहेको अवस्थामा विद्यार्थीहरुलाई सिलिङ फेनको व्यवस्था गरेको हो ।

विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजाल भन्छन् : सामुदायिक विद्यालयका माथिल्लो कक्षाहरुमा विशेषतः विद्यार्थीहरुको चाप उच्च रहनुका साथै एउटै बेञ्चमा बस्दा गर्मी बढी हुने भएकाले विद्यालयका स्टाफहरु, केही अभिभावकहरुको सहयोगमा बालविकास देखि नै उच्च तहसम्मका कक्षाकोठाहरुमा फ्यानको व्यवस्था गरेका हौं । यसले गर्मी समयमा विद्यार्थीहरुलाई थोरै भएपनि राहत महसुस गरेका छन् । त्यतिमात्र कहाँ हो र ? उक्त विद्यालयको प्रत्येक भवनका अगाडी विद्यार्थीहरुद्वारा नै निर्माण गरिएका फूलबारीले सबैलाई मोहित तुल्याएको छ । विद्यालयमा फूलबारी अनिवार्य हुनुपर्ने नियम पश्चात विद्यालयले सो कार्य शुरु गरेको थियो ।

शुरुमा केही फूलका विरुवाहरु विद्यालयले खरीद गरेर ल्याएता पनि विद्यार्थीहरु स्वतःस्फूर्त रुपमा लागेपछि अन्ततः विद्यालयको स्वरुप नै परिवर्तन भएको छ ।

शिक्षक गोविन्द काफ्ले भन्छन् :

मैले विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा फूल रोप्नु भनेर एउटा ट्रेण्ड चलाएको थिए, सोहीको परिणाम अहिले हो ।”

सो विद्यालयले यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पनि केही कक्षाहरु सञ्चालन गर्ने भन्दा अधिकांश अभिभावकहरु दिनानुदिन विद्यालयमा सम्पर्कमा आइरहेको बताउँछन् विद्यालयका लेखापाल छबिलाल दवाडी । अघिल्ला वर्षहरुमा वार्षिक परीक्षापछि प्रायः कार्यालय बन्द रहने उक्त विद्यालयमा वार्षिक परीक्षा पश्चात बालविकासको कक्षा भने निरन्तर रुपमा चलिरहेको देख्न सकिन्छ ।

यता, एक कार्यक्रममा पूर्व विद्यार्थी तथा हालका सशक्त युवा व्यवसायी एल.पी.साँवाले आफूले पढ्दा टेलिभिजनको बारेमा शिक्षकलाई सोधेको स्मरण गर्दै विद्यालयको सवलीकरण तथा आधुनिकीकरणमा सघाउ पु¥याउने उद्देश्यले ८ वटा कम्प्युटर निःशुल्क उपलब्ध गराएपछि कक्षा १ देखि ८ सम्म नै कम्प्युटर शिक्षा सञ्चालनमा आएको छ भने हाल उक्त विद्यालयमा २२ वटा कम्प्युटरहरु सहयोगस्वरुप प्राप्त भइसकेका  छन् ।

यता, सोही विद्यालयका पूर्व विद्यार्थी हाल मेची भन्सार कार्यालयका प्रमुख गणपति कँडेलले विद्यालयमा उपस्थित भइ आफूले पढ्दाको अवस्था र हाल विद्यालयको अवस्थालाई नियाल्दै विद्यालयमा आमुल परिवर्तन भएको प्रति खुसी व्यक्त गरेका थिए ।

हाल, विद्यार्थीहरुलाई पढाइका अतिरिक्त खेलकुद पनि अनिवार्य भन्ने नियम बनाएपछि हाल विद्यालयमा विशेषतः छात्राहरु क्रिकेट खेलिरहेको प्रष्ट देखिन्छ । संवाददाता उनीहरुसंग सोध्न जाँदा विद्यालयकी क्रिकेट कप्तान सुष्मा राई भन्छिन् – विद्यालयले पहिले नै यस्तो अवसर दिएको भए हामीमध्ये कोही न कोही पक्कै राष्ट्रका लागि खेल्ने भइसक्ने थियौं । तरपनि विद्यालयले एउटा मौका दिएको छ, भरपुर सदुपयोग गर्नेछौं ।

सामुदायिक विद्यालयहरु खेलकुदको परिणाममा प्रायः

शून्य देखिने भएता पनि उक्त विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल छात्रा तर्फ क्षेत्र नं. ५ बाट प्रथम हुँदैं जिल्लामा तेस्रो स्थान हासिल गर्नु, क्रिकेट छात्रामा क्षेत्र नं. ५ मै एक्लो प्रतिष्पर्धी हुनु लगायतका विभिन्न परिणामहरु आफ्नो पोल्टामा पारिसकेको विद्यालयमा देखिएका शिल्ड तथा प्रमाणपत्रहरुले प्रष्टै पार्छ ।

त्यसैगरी, विद्यालयमा गठित बालक्लब, जुनियर रेडक्रस सर्कल, लागुपदार्थ दुव्यर्सनी विरुद्धको सञ्जाल मा आवद्ध विद्यार्थीहरु पनि उत्तिकै सक्रिय छन् । सो विद्यालयकी बालक्लब अध्यक्ष अस्मिता बिष्ट भन्छिन् :

सामुदायिक विद्यालयका अति विपन्न विद्यार्थीहरुका निम्ति यसपालिको जाडोमा न्यायो कपडा बाढ्ने योजना बनाएका छौं । त्यसका लागि हामी केही क्यालेण्डरहरु निर्माण गरी सो बाट बचेको रकम उक्त कार्य गर्नका लागि खटेका छौं । सजग विद्वानहरुले सहयोग गर्नुहुनेछ ।

यसअघि हामीले खुल्ला दिसा मुक्त अभियानका निम्ति सडक नाटक, विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, तालिमहरु उपलब्ध गराइसकेका छौं । सामुदायिक विद्यालय भनेर मुन्टो फर्काउनुको सट्टा एकचोटी अवलोकन गर्न अनुरोध छ ।”
विद्यालयले यसै वर्षदेखि अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा भाग लिनु पर्ने नियम बनाएकोमा कसरी समय व्यवस्थापन गर्ने भन्ने प्रश्नको जवाफमा विद्यालयका प्रधानध्यापक रिजाल भन्छन् :

केही विषय विज्ञ शिक्षकहरुसंग मैले यसअघि नै कुरा उठाउँदा उहाँको सकारात्मक जवाफ पाइयो ।

तसर्थ सकेसम्म यस शैक्षिक सत्रदेखि आठौं घण्टीमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने योजना छ । पक्कै सफल भइन्छ । सो विद्यालयले थोरै समयमा गरेको उन्नति तथा प्रगतिको कदर गर्दै सतासीधाम जेसिजले ११ थान खेलकुद पोशाक सहयोग स्वरुप प्रदान गरिसकेको छ भने समाजसेवी एल.पी. साँवाले पनि १५ थान जर्सी उपलब्ध गराउने वचन दिइसकेका छन् ।

सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर न्यून, शैक्षिक सामग्रीको अभाव हुन्छ भन्ने मढगणन्ते हल्लाप्रति जवाफ दिन सो सामुदायिक विद्यालय तत्पर रहेको त्यहाँको भौतिक व्यवस्थापन, शैक्षिक व्यवस्थापनका साथै अपाङ्ग मैत्री भवन निर्माण, आइसीटी प्रविधिको समुचित प्रयोगले प्रष्ट पार्नुका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढिरहेको देख्न सकिन्छ ।

Views: 154

प्रतिक्रिया (०)