भक्तपुर।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई आज भक्तपुरको ठिमीमा सम्बोधन गर्दै उहाँले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले स्थानीय तह निर्वाचन हुने मिति घोषणा भई तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाउँदै मधेस केन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुनेमा जोड दिनुभयो ।
पछिल्लो समयमा ठूला दलका नेताका कारण नेपालको राजनीतिक क्षेत्र विकृति बन्दै गएकाले संसद्लाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं उहाँले स्थानीय निर्वाचनमा पार्टीकोतर्फबाट उम्मेदवार चयनका लागि पार्टीको स्थानीयस्तरलाई नै अधिकार दिइएको तथा जिल्ला समितिको सिफारिसअनुसार पार्टी केन्द्रिय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने जानकारी दिनुभयो ।
सांसद प्रेम सुवालले हालसम्मका सबै सरकार विदेशीको इसारामा चलेको बताउँदै काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको नाम फरक भए पनि कार्यशैली एउटै भएको बताउनुभयो ।
प्राध्यापकद्वय माणिकलाल श्रेष्ठ, पृथुचरण वैद्य र पत्रकार समाजका अध्यक्ष लक्ष्मण जोशीलगायतले आदर्श समाज निर्माणमा प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।