(मोहम्मद सदरुल)
भद्रपुर ।
मेहनत गरे मरुभूमिमा पनि सुन फल्छ भन्ने उदाहरण बनेका छन् झापाका बगरखेती गर्ने किसान । नदी छेउका बालुवा थुप्रिएका उपयोग विहीन ती जग्गालाई बगरखेती गर्ने किसानले भाडामा लिएर जग्गामा खरबुजा, काँक्रा, लौका र करेला तरकारी उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
आलुु तरकारी तथा मसलाबाली विकास आयोजना अन्तर्गत झापाका कन्काई नगरपालिका– ५ स्थित मण्डल बस्तीका ७० किसानले कन्काई नदी किनारमा लगभग एक सय १० हेक्टर जग्गामा लगाएका खरबुजाखेती कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी,प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र स्थानीय विकास अधिकारी खेमराज ओझा समेतको टोलीले आज निरीक्षण एवम् अवलोकन गरेको छ ।
खरबुजाखेती गर्ने किसान पारस मण्डलले आफूले प्रति बिगाहाका लागि रु १० हजार भाडा तिरेर डेढ बिगाहामा खरबुजारखेतीसँगसँगै काँक्रा, लौका र करेलाखेती गरेको जानकारी दिनुभयो ।
आफूहरुसँग जग्गा नभएकाले परिवार पाल्न यसरी खेती गरेको र एक बिगाहामा रु तीन लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
मङ्सिर पुसबाट सुरु हुने योखेती गर्दा एक बिगाहामा लगभग रु ६० हजार खर्च लाग्ने भए पनि असिना र बाढी नआए मनग्य आम्दानी हुने गरेको कृषक मण्डलको भनाइ छ ।
यस्तै, भूमि मण्डलले अनुगमन टोलीलाई बगरखेती बारे जानकारी दिँदै चैत र वैशाखमा टिप्ने खरबुजा गएको वर्षमा काठमाडौँसम्म पठाएको तर यसवर्ष काठमाडाँैका व्यापारी आएकोले स्थानीय बजारमै बिक्री गर्ने गरेको बताउनुभयो ।
निकै रसिलो र शरीरका लागि निकै फलदायी मानिने खरबुजा स्थानीय बजारमा प्रतिकलो रु १५ मा बिक्री हुनेगरेको कृषक भूमिले बताउनुभयो ।
गएको वर्ष खरबुजाखेतीलाई उत्प्रेरित गर्न कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएकामा यसवर्ष सो कार्यालयले खरबुजा खेतीलाई आवश्यकपर्ने करिब रु पाँच लाख बराबरको उपकरण उलब्ध गराएको छ ।
झापामा मेची नदी, विरिङ र कनकाई नदीको बगरमा लगभग १३२ दशमलव ५ हेक्टर जग्गामा यसवर्ष खरबुजाखेती गरिएको छ ।
गएको वर्ष खरबुजा बिक्रीबाट सबै कृषकले रु दुई करोड ३५ लाखको आम्दानी गर्न सफल भएकाले यसवर्ष पनि अनुकूल हावापानी र मौसमले गर्दा त्यो भन्दा बढी आम्दानी गर्नसक्ने बगरखेतीमा प्राविधिक सहयोग जुटाउने फरवार्ड नेपालका प्रतिनिधि टङ्क आचार्यले बताउनुभयो । चक्रपथ, पाकिजा, नामधारी– ३४,२९५ र २०० तथा अगस्ता जातका हुने खरबुजामा सबै भन्दा राम्रो नामधारी– ३४ र अगस्ता मानिन्छ ।
यी दुबै जातका खरबुजा रसिलो, मिठो र स्वादिलो हुने गरेको प्राविधिक आचार्यले बताउनुभयो ।
कृषिबाली खरबुजा खेतीलाई सुरक्षित बनाउन बाली बिमा हुनुपर्ने कृषकको भनाइ छ भने बिमा कम्पनीले असिनाको मात्र बिमा हुने भनेकाले उनीहरुले अनुमगन टोलीमा रहनुभएका प्रमुख जिल्ला अधिकारी खत्रीलाई गुनासो गरेका थिए
किसानले ५० ग्राम भएको बीउको पाकेटलाई रु एक हजार ३५० तिरेर र घरपरिवारका सबै सदस्यले दिनरात नभनेर गर्दै आएका यो खेतीलाई सुरक्षित बनाउन टोलीसँग माग पनि गरे । एउटा बोटमा करिब चारदेखि पाँच वटासम्म फल्ने खरबुजा अहिले खेतमा लटरम्म देखिन्छ भने व्यापारी पनि किसानकै खेतमै आउने गरेकाले केही दिनमै राम्रै आम्दानी हुनेमा उत्सुक छन् ।
निरीक्षण भ्रमणपछि उपस्थित किसानलाई प्रमुख जिल्ला अधिकारी खत्रीले तपाई“किसानको मेहनत र परिश्रमले बगरमा सुन फलेको छ र यसबाट आर्जन हुने आम्दानीले तपाईको भविष्य निर्धारण गर्ने भएको खेतीमा निराश होइन आशावादी बन्न आग्रह गर्नुभयो ”।
उहाँले वैदेशिक रोजगारमा ५० देखि ५२ डिग्री सेल्सियस तापक्रममा काम गर्ने युवालाई बगरखेती गतिलो जवाफ हो भन्दै यस्ता खेतीबाट नै उत्पादनमा विविधता ल्याउनु सकिनेमा जोड दिनुभयो ।