Aamsanchar

खारेज भयो अमानक वर्णविन्यास

Author Image
मङ्गलवार, चैत २९, २०७३

काठमाडौं :

सरकारले विद्यालय तहको अमानक वर्णविन्यास खारेज गर्ने भएको छ। तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले ०६९ सालमा गरेको निर्णय खारेज गरी पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को रहेका शिक्षामन्त्री धनीराम पौडेलले मानक वर्णविन्यासलाई प्रयोग गर्ने निर्णय दिएका हुन्।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले मानक नेपाली वर्णविन्यास हुनुपर्ने अडान राख्दै अभियानका साथ आन्दोलन गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले गत कात्तिक ३० गते नेपाली बृहत् शब्दकोश ०७२ खारेज गरेको थियो। पाठ्यक्रम विकास केन्द्रले प्रतिष्ठानले गरेको पाँचबुँदे निर्णयलाई विद्यालय तहमा लागू गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालयले अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ पनि खारेज गरिसकेको छ।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पाँच वर्षदेखि प्रयोग हुँदै आएको वर्णविन्यास सच्याएर मानक नेपाली वर्णविन्यास गर्ने निर्णयमा पुगेको जानकारी दिए। अभियान अन्तर्राष्ट्रिय सञ्जालले केही महिनाअघि मानक वर्णविन्यास प्रयोगमा ल्याउन केन्द्रका निर्देशक काप्रीलाई भेटी लिखित पत्रसमेत दिएको थियो । काप्रीका अनुसार पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आइतबार र सोमबार बसेको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सच्याएर लागू गर्ने गरी निर्णय गरेका पाँच बुँदा कार्यान्वयन गर्ने निर्णय गरेको हो।

जसअनुसार संयुक्त व्यञ्जन वर्णको व्यवस्थापनक्रममा विशेषगरी ‘द’ वर्णसँग जोडिएर आउने मूल शब्दका प्रविष्टिमा प्रयोग गरिएका संयुक्त व्यञ्जनअनुसार र तिनका उपप्रविष्टि र अर्थ लेखनमा व्यञ्जनको खुट्टा काटी गरिएको सम्पूर्ण प्रयोगलाई सच्याई बुद्ध, द्वन्द्व, विद्या आदि संयुक्त व्यञ्जन लेखिनेछ। अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत् शब्दकोश २०५८ र २०६७ का प्रविष्टि अनुकूल राखिनेछ।

अब एकल अर्थ दिने व्यक्तिका नामका पहिला दुई शब्द लक्ष्मीप्रसाद, लेखनाथ आदि जोडेर लेख्ने, लिपिचिह्न गणना नगरी एकार्थी नामस्थान भक्तपुर, ललितपुर नै लेख्ने, दिनको नाम (बार) शब्दलाई पदयोग गरी आइतबार, सोमबार लेख्नुपर्नेछ। विभक्ति चिह्न र नामयोगीलाई पूर्वप्रचलनअनुसार मूल शब्दसँग योग गरेर रामले, घरमाथि, पूर्वतर्फ आदि लेख्ने, संयुक्त क्रिया जोडेर खानुपर्छ, मिलाइदिन्छ बनाउने र दुई शब्दबाट बनेका एकार्थी समस्त शब्दलाई पदयोग गरेर प्रधानमन्त्री, शुभकामना आदि लेखिनेछ।

यसअघि पुस ११ गते त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायअन्तर्गतको नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिले पनि सञ्जालकै दबाबस्वरूप अमानक नेपाली वर्णविन्यास खारेज गरेको थियो भने त्रिभुवन विश्वविद्यालयकै नेपाली केन्द्रीय विभागले मंसिर ३ गते अमानक र विवादित वर्णविन्यास खारेज गर्ने निर्णय गरेको थियो । साझा प्रकाशनले पनि फागुन २२ गते अमानक खारेज गरी मानक नेपाली वर्णविन्यास प्रयोग गर्ने निर्णय गरेको थियो।

केन्द्रका कार्यकारी निर्देशक काप्रीले सम्भव हुने विषय र सन्दर्भलाई तत्काल सच्याउने र मातहत निकायलाई सोहीअनुसार परिपत्र गर्ने जानकारी दिए। उनले भने, ‘पाठ्यक्रम छापिएर वितरणसमेत भएकाले आगामी प्रकाशनदेखि सच्याउनेछौं।’अन्नपूर्ण पोस्टबाट

Views: 181

प्रतिक्रिया (०)