Aamsanchar

निर्वाचन स्थानीय विकासको नयाँ अभ्यास

Author Image
मङ्गलवार, चैत २९, २०७३

पोखरा ।

गाउँ विकास समिति राष्ट्रिय महासङ्घद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्र र सङ्घीयता सुदृढीकरणका लागि स्थानीय निर्वाचन’ विषयक अन्तरक्रियामा आसन्न स्थानीय तहको निर्वाचन देशका लागि स्थानीय विकासको नयाँ अभ्यास भएकामा जोड दिइएको छ ।

स्थानीय तहको निर्वाचनसँगै देशमा स्थानीय लोकतन्त्रको कार्यान्वयनसहित सेवा प्रवाहको पनि नयाँ अभ्यासको थालनी हुने बताउँदै कार्यक्रमका वक्ताले संविधान प्रदत्त हक तथा अधिकारको उपयोगमा सर्वसाधारणको जागरुकता अपरिहार्य भएको बताए ।

कार्यक्रममा स्थानीय तह पुनः संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले संविधानले स्थानीय एकता, स्वाधीनता, स्वायत्तता र स्वशासनको अधिकारलाई स्थापित गर्न खोजेको बताउँदै यसको सफल कार्यान्वयन वर्तमानको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले संविधानले स्थानीय सरकारको संवैधानिक बन्दोबस्त गरेको जानकारी दिँदै त्यसको नेतृत्वका लागि पदीय दायित्व बहन गर्न सक्ने, व्यवस्थापकीय दक्षता, सुशासनप्रति प्रतिबद्धजस्ता गुण भएको प्रतिनिधि चयन गर्नेतर्फ मतदाता सजग बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

स्थानीय शासन विज्ञ तथा स्थानीय तह पुनः संरचना आयोगका पूर्वसदस्य डा श्यामकृष्ण भूर्तेलले आसन्न स्थानीय तहको निर्वाचनमा जनतालाई संविधानले दिएका अधिकार उपयोग गराउन सक्ने नैतिक र चरित्रवान, व्यक्तिगत स्वार्थमा नजोडिने नेतृत्व चयन गरिनुपर्नेमा जोड दिनुभयो ।

जिविस कास्कीका पूर्वसभापति पुण्य पौडेलले संविधान संशोधनका नाममा प्राप्त अधिकारसमेत गुम्न जाने अवस्थाप्रति गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राजेन्द्र प्याकुरेल, मानबहादुर जिसीलगायतले लोकतन्त्र र सङ्घीयता सुदृढीकरणका लागि स्थानीय निर्वाचनको कुनै विकल्प नभएकामा जोड दिँदै निर्वाचनपश्चात् देश विकास र समृद्धिको नयाँ मार्गमा अघि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)