Aamsanchar

सुरुङ्गामा सुविधा सम्पन्न पार्क निर्माण गरिने

Author Image
बुधवार, चैत ३०, २०७३

बिर्तामोड।

झापाको कनकाई नगरपालिकामा रहेको सुरुङ्गा बजारलाई सुन्दरता प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न पार्क निर्माण गरिने भएको छ ।
बन्द निषेधित क्षेत्रका रुपमा चिनिएको सुरुङ्गालाई राष्ट्रिय स्तरमा पहिचान गराउँदै नमूना सिटीको रुपमा विकास गरिने अवधारणासहित पार्क निर्माण गरिने भएको हो ।
पार्क निर्माणका लागि कनकाई नगरपालिका–३ सुरुङ्गा बजार पूर्व र पश्चिमको लगभग ६ कठ्ठा क्षेत्रफलको व्यवस्थापन गरिएको बताइएको छ ।
कनकाई उद्योग वाणिज्य संघको पहल एवम् कनकाई नगरपालिका तथा जिल्ला वनसँगको आर्थिक साझेदारीमा उक्त कार्यक्रम हुन लागेको हो ।
जसका लागि कनकाई नगर समिति अध्यक्ष प्रकाश चुडालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन भएको छ । समितिमा सामाजिक संघ–संस्था तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
समितिको सचिवमा सुरुङ्गा जेसीजका जविन तिम्सिना, कोषाध्यक्षमा सामुदायिक वनका कविता बस्नेत चयन भएका छन् । समितिको सदस्यमा कनकाई उद्योग वाणिज्य संघका कुमारमणि पोखरेल, सहकार्य युवा क्लवका सुदिप भण्डारी, ज्ञानज्योति युवा क्लवका नविन सेढाई, बजार व्यवस्थापन समितिका देवीप्रसाद खरेल, कनकाई कनकाई खेलकुद प्रतिष्ठानका नमिता काफ्ले, वातावरण संरक्षण समूहका वर्षा श्रेष्ठ रहेका छन् ।
त्यस्तै बालकृष्ण मैनालीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन भएको छ । समितिको सदस्यमा हरिभक्त सिटौला, दयानन्द वंशल, मेनुका मैनाली र आशा शर्मा शिवाकोटी रहेका छन् ।
२५ लाख रुपैयाँको लागतमा निर्माण हुने पार्क आधुनिक र व्यवस्थित हुनेछ । पार्क निर्माण कार्य असार मसान्तसम्ममा सम्पन्न गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१