(सुरेन्द्र भण्डारी)
झापा।

नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न सुरु गरेसंगै ट्रान्सफर्मर पड्किएर अन्धकारमा बस्नुपर्ने समस्याबाट सर्वसाधारणले मुक्ति पाएका छन् ।
विद्युत् चुहावट हुँदा ओभरलोडका कारण वर्षेनि ट्रान्सफर्मर पड्कने समस्याका कारण सर्वसाधारण महिनौंसम्म अन्धकारमा बस्न बाध्य थिए । तर, प्राधिकरणले सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी भएपछि सर्वसाधारणले महिनौसम्म अन्धकारमा बस्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।
नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले ओभरलोडका कारण दिनहुँजसो ट्रान्सफर्मर बिग्रिएर हुने हैरानीबाट मुक्ति मिलेको छ भन्नुभयो ।
‘बिग्रिएको एउटा ट्रान्सफर्मर मर्मत गर्न विराटनगर पु¥याउनुपर्ने बाध्यता आफूहरुमा रहेका र प्रति ट्रान्सफर्मर मर्मतका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्थ्यो प्रमुख इञ्जिनियरसिंहले भन्नुभयो– अब त्यो समस्याबाट समेत हामीले छुटकारा पाएका छौं । उहाँले अगाडि थप्नुभयो– ‘ठूलो उपलब्धि त सर्वसाधारणले लाइन गयो भनेर अन्धकारमा बस्नु परेको छैन ।’
कारवाहीबाट तीसलाख राजश्व संकलन
अनारमनी वितरण केन्द्रले साविक तीनवटा नगरपालिका र १८ वटा गाविसका ५२ हजार २ सय १ जना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । विद्युत् चुहावड नियन्त्रण अभियान प्रभावकारी भएसँगै प्राधिकरणले पछिल्लो समय तीसलाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
विद्युत् चोरीमा संलग्नलाई कारवाही गर्दैै प्राधिकरणले सो राजश्व संकलन गरेको बताइएको छ । ३ सय ४९ जना विद्युत् चोरीमा संलग्नलाई कारवाही गर्दा प्राधिकरणले उक्त रकम राजश्व संकलन गरेको केन्द्र प्रमुख तथा प्रमुख इञ्जिनियर समेत रहनुभएका सिंहले बताउनुभयो ।
तीन प्रतिशत घट्यो चुहावट
विद्युत् चुहावट अभियान तीव्र पारेसँगै झापामा विद्युत् चुहावट प्रतिशत समेत घटेर गएको छ । केही समयअघिसम्म झापामा २२ प्रतिशत विद्युत चुहावट हुने गरेको तथ्यांक नेपाल विद्युत प्राधिकरणसंग रहे पनि त्यो दर अहिले १९ प्रतिशतमा झरेको बताइएको छ ।
आठ महिनामा ३७ करोड २० लाख उठ्यो महसुल
पछिल्लो ८ महिनामा नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाले ५२ हजार २ सय १ जनाबाट ३७ करोड २० लाख ४० हजार ८ सय ७२ रुपैयाँ ८४ पैसा विद्युत महसुल उठाएको छ । ३८ करोड ८१ लाख ५५ हजार ६७ रुपैयाँ १६ पैसा विद्युत् महसुल उठ्नुपर्नेमा ९७.७० प्रतिशत विद्युत महसुल संकलन गरेको केन्द्र प्रमुख सिंहले बताउनुभयो ।
यो दर पूर्वाञ्चलकै उच्च हो उहँँले भन्नुभयो–‘चुहावट नियन्त्रण र नियमित निगरानीका कारण यो सब सम्भव भएको हो ।
आठ महिनाको अवधिमा उल्लेख राजश्व संकलन गर्न सफल प्राधिकरणले आगामी दिनमा आफ्नो कार्यक्षेत्रलाई लोडसेडिङमुक्त क्षेत्र घोषणाको तयारी गरिरहेको छ’ –केन्द्र प्रमुख सिंहले भन्नुभयो ।

