Aamsanchar

२० बर्षपछी पुरा भएको पारसको सपना

Author Image
बिहिवार, चैत ३१, २०७३

भरत शिवाकोटी,

   [युएई]

 जीवन जिउने क्रममा अनेकन घुम्ती र मोडहरु आउँछन र जान्छन | कति मानिस तिनै घुम्ती र मोडहरु छिचोल्न नसकेर थाक्छन भने कति घुम्ती र मोडहरु छिचोल्दै अगाडी बढदछन र आफ्ना सपनाहरु पुरा गर्दछन | सपना पुरा गर्न ब्याक्तिले चाहेर मात्र हुँदैन उसलाई सबै पक्षबाट साथ पनि जरुरि हुन्छ | यहि मानिसहरुको भिडमा एक सपना बोकेका व्यक्तिको नाम हो ‘’पारस लामा’’ जसले आजभन्दा बर्षौं पहिले नेपाली संगीतको आकाशमा आफ्नो नाम राख्ने सपना देखेका थिए |

उनै पारसले ‘पूरा भयो सपना मेरो…..’ बोलको गीत नेपाली मञ्चहरुमा धेरै पटक गाएर दर्शकहरुको मन त जितेका थिए तर आम नेपालीहरुमा उनको आवाजमा भरिएको गित भने पुगेको थिएन | युएईमा कार्यरत झापाका पारस लामाको सपना उनको निरन्तरको मेहनतले अब भने साँच्चै पूरा भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर वैशाख १ गते लामाले ‘वाउ क्या राम्री सोल्टिनी मेरी, गालैमा डिम्पल छ बोलको गीत युटयूव मार्फत सार्वजनिक भएसँगै उनको गीत रिलिज गर्ने सपना पूरा भएको हो । लोकपप र सेलो शैलीको नाचु-नाचु लाग्ने गीतले नेपाली संगीतप्रेमीहरुको मन जित्ने विश्वास गायक लामाले व्यक्त गरेका छन ।

चर्चित युवा संगीतकार टंक बुढाथोकीले म्युजिक एरेन्ज तथा संगीत भरेको उक्त गीतमा ज्ञानेन्द्र थोकरको शब्द रहेको छ, जसलाई गायक लामाले दुबईको स्टुडियो नाइनमा रेकर्ड गराएका हुन । गीत मिक्सिङको काम संगीतकार टंक बुढाथोकीले काठमाडौंको पुतलीसडकमा अवस्थित आफ्नै स्टुडियोमा पुरा गरेका हुन ।

पूर्वी पहाडी जिल्ला पाँचथरको मौवा–५ मा पिता दलबहादुर र माता मनमाया लामाको काँइलो सुपुत्रका रुपमा २०३९ सालमा जन्मिएका पारस पछिल्लोपटक झापाको शान्तिगर, बर्नेमा परिवार सहित बसोबास गर्दै आएका छन । बाल्यकालदेखि नै गीत गाउने रुची बोकेका उनि गाउँकै देउराली सांस्कृतिक परिवार बाट गीत गाउन आरम्भ गरेको स्मरण गर्दछन । आफ्ना जेठा दाजु सञ्जय लामाको प्रेरणाबाट गायनमा लागेको बताउने लामाले २०५४/२०५५ तिर रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र, धनकुटाको संगम कार्यक्रममा गीत गाएपछि कुनै दिन गीत रेकर्ड गर्ने सपना देखेका थिए । लक्ष्य र इच्छाशक्ति बोकेर मेहनतका साथ अघि बढे के गर्न सकिदैन, भन्ने उदाहरण बनेका पारसले अन्तत: २० वर्ष पछी आफुले देखेको सपना पुरा गरेका छन । हाल अडियो गीत सार्वजनिक भएपनि गीतको भिडियो समेत चाडै दर्शकमाझ ल्याउने जानकारी पारसले दिएका छन | अहिलेको बजारमा विशेस गरि युवा जमातले रुचाउने नाचु-नाचु लाग्ने गीत भएको हुँदा आम स्रोताहरुले सुनेर मनोरंजन लिन आग्रह गर्दै गायक पारसले सबै श्रोताको माया पाउने आशा एवम विश्वास व्यक्त गरेका छन |

दुबईमा रहेका झापालीहरूको सामाजिक संस्था झापाली समाज यु.ए.ई. का सांस्कृतिक विभाग प्रमुख समेत रहेका लामा गायन विधामा विशेष क्षमता राख्छदछन भने उनले दुबईका विभिन्न कार्यक्रमहरुमा आफ्नो सफल प्रस्तुति दिएर धेरै नेपालीहरु माझ आफ्नो परिचय मात्र बनाएका छैनन लोकप्रिय समेत बन्दै गएका छन | विगत १४ वर्ष अघि रोजगारीको निमित्त युएई छिरेका लामाको गीत दर्शक माझ ल्याउने सपना पुरा भएपनि उनका अन्य सपनाहरु कहिले पुरा हुने हुन र मातृभूमि फर्कने हुन यसै भन्न सकिन्न |

https://www.youtube.com/watch?v=hc-_iim8NMY

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर