बिर्तामोड।

के तपाई रिचार्ज कार्ड किन्दै वा बेच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सजग रहनुहोस् । आफूले किनेको वा बेचेको रिचार्ज कार्ड चोरीको पनि हुनसक्छ । चोरीको रिचार्ज कार्ड बेचेको आधारमा बिर्तामोडमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको राजगढ बजारमा सञ्चालित सन्तोष किराना पसल फोरेर चोरी गरेको रिचार्ज कार्ड बेच्दा बिर्तामोडका सीताराम सापकोटा प्रहरीको नियन्त्रणमा छन् अहिले ।

बिर्तामोड–१मा सापकोटा किराना पसल सञ्चालन गर्ने उनी रिचार्ज कार्डको सिरियल नम्बरबाट पक्राउ परेका हुन् । सापकोटाले बिर्तामोडस्थित एक महिलालाई तीन सय रुपैयाँको रिचार्ज कार्ड बेचेका थिए । १५०२८२००००१५०६७७ नम्बरको एनसेलको रिचार्ज कार्डको सिरियल नम्बर हो यो, यही नम्बरबाट उनी पक्राउ परेका हुन् । योसहित ७८ र ८० सिरियल नम्बर भएका रिचार्ज कार्ड चोरी भएका थिए ।
चोरी भएको रिचार्ज कार्डका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सापकोटालाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । उनले भने–घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । गत चैत ३१ गते राति राजगढका तीन वटा पसल चोरी भएका थिए ।
राजगढमा रात्री गस्ती
झापाको राजगढ बजारमा दिनहुँ चोरी हुन थालेपछि त्यहाँका स्थानीय युवाले रात्री गस्ती शुरु गरेका छन् ।
पछिल्लो समय सन्तोष शर्मा, यामप्रसाद तिम्सिनाको पसल फुटाएर तथा वुद्धराज भण्डारीको घरको ताला फुटाएर धनमाल चोरी भएपछि स्थानीय दीपक श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्दै युवाहरुले रात्री गस्ती शुरु गरेका हुन् । समितिको सदस्यमा याम तिम्सिना, सन्देश सहनी, दीपेश शिवाकोटी, रवीन राई, अर्जुन कोइराला, सन्तोष शर्मा, फिरदोज खान, प्रविण खतिवडा, खेम खरेल र प्रकाश तामाङ रहेका छन् ।
स्थानीय प्रहरी प्रशासनले शान्ति सुरक्षा प्रदान गर्न नसकेको बताउँदै उनीहरुले वजारको सुरक्षाको लागि रात्री गस्ती शुरु गरेको बताइएको छ । युवाले सुरक्षा निकायबाट व्यवसाय संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउँदै सुरक्षाको मागसहितको वोद्धार्थ जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएको संयोजक श्रेष्ठले बताए ।


