(शान्तिराम बस्नेत)
शिवसताक्षी ।
आउँदो बैशाख ३१ को चुनावका लागि वडा तहदेखि नै क्षमतावान, जित्न सक्ने र पार्टीप्रति इमान्दार उम्मेद्वार छनौट गर्नमा सदैव लागि पर्ने कुरा नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेबेले आश्वासन दिएका छन् ।
पूर्व झापा जिल्ला उपसभापति समेत रहेका थेबेले मुलुकको समग्र विकासमा कांग्रेसले खेलेको भूमिकालाई स्थानीय चुनावपछि अझ परिस्कृत गरेर अघि बढ्ने बताए । उनले ऐतिहासिक परिवर्तनदेखि समाज सुधारका खुल्ला नीतिहरु कांग्रेस नेतृत्वको सरकारले ल्याएका कारण समग्रमा नेपालको विकास क्रम बढ्ेर गएको दाबी गरे ।
शनिबार नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको वडा नं. ११ को क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले युवाहरुलाई नै विशेषतः पार्टीपंक्तिको नेतृत्व दिनु पर्ने धारणा राख्दै नेपाली कांग्रेस वडा नं. ११ का जुझारु युवाहरुको हरेक प्रयासहरु सफल तथा उच्च कार्य गरेको प्रति प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा जिल्ला तहदेखि लिएर क्षेत्रीय तथा नगर सम्मका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । वडा नं. ११ का वडा सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति खगेन्द्रराज बजगाँईंको रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव मदन राईले गरेका थिए ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेको समेत लर्को लागेको थियो ।