Aamsanchar

सर्पदंश उपचार केन्द्रका लागि सहाराको रु साठी लाख सहयोग

Author Image
आइतवार, वैशाख ३, २०७४

झापा ।

झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रका लागि सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ६० लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा र कनकाई नगरपालिका तथा  कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सहयोगमा स्थापना गरिएको उपचार केन्द्रका लागि संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो रकम प्रदान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो  ।

सर्पदंश उपचार केन्द्र कनकाई नगरपालिकाको कोटिहोमस्थित कर्मयोग भवनमा सञ्चालनमा ल्याइने भएको छ । सो सर्प दंश उपचार केन्द्र भेन्टिलेटरसहित ५ शैयाको हुने सर्पदंश उपचार केन्द्र सञ्चालन समिति संयोजक प्रभाखर कडरियाले जानकारी दिनुभयो ।
सुरुङ्गा,कुमरखोद,शरणामति,टाघनडुब्बासहित शिवसतासी नगरपालिकाका सर्वसाधारणलाई सहजै सेवा प्रदान गर्न सर्पदंश उपचार केन्द्र संचालनमा ल्याउन लागिएको र उक्त सर्पदंश उपचार केन्द्रले  जेठ महिनाबाट सेवा शुरु गर्ने बताइएको छ ।सर्पदंश उपचार केन्द्र सञ्चालानार्थ कडरियाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिको सचिवमा गंगाराम दाहाल, कोषाध्यक्ष लीला चिमरिया, रहनुभएको छ ।
त्यस्तै समितिको सदस्यमा महेन्द्रकुमार गिरी, लोकराज ढकाल, श्याम पौडेल, पदम भट्टराई, तेजप्रसाद आचार्य र कुमारमणि पोख्रेल रहनुभएको छ । सर्पदंश उपचार केन्द्र सञ्चालानार्थ हाल उपकरण जोड्ने काम भइरहेको सञ्चालक समिति सदस्य गिरीले बताउनुभयो ।
सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस अघिपनि स्वास्थ्य क्षेत्रका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई गत फागुनमा बिर्तामोडमा स्थापना गरिएको रक्त संचार सेवा केन्द्रका लागि कम्पोनेन्ट मेसिन खरिदका लागि १७ लाख रुपैयाँ सहयोग गरेको थियो ।

Views: 165

प्रतिक्रिया (०)