Aamsanchar

शिवसताक्षीमा उम्मेद्वारको चर्चा, को–को छन् त आकांशी ?

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी,


स्थानीय तहको निर्वाचनको मिति नजिकिदैं जाँदा शिवसताक्षी नगरपालिकाको वडा वडामा चुनावी माहोल तात्दै गएको छ । साविक सतासीधाम, शिवगञ्ज मिलेर शिवसताक्षी बन्दा पछिल्लो समयमा धरमपुर र पाँचगाछी गाविस पनि गाभिए पछि बनेको उक्त नगरपालिकामा २५ मतदान केन्द्र रहेका छन् भने ४४ हजार ६२ मतदाता रहेको जानकारी निर्वाचन कार्यालय, नेपालको आधिकारिक वेवसाइटमा उल्लेख गरिएको छ ।

यसरी चुनावी मिति तय भएसंगै राजनीतिक दलका चुनावी गतिविधिहरु पनि उत्तिकै चलायमान भएको छ । अहिले सबै पार्टीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड बाक्लो देखिन्छ । सबै चोक तथा चिया पसलमा निर्वाचन र उम्मेद्वारको चर्चाले साँच्चै चुनाव आएको महसुस जनताले गर्न थालेका छन् । प्रत्येक चोक चोक तथा बजारमा मेयर देखि लिएर वडाअध्यक्ष हुँदैं सदस्यहरु को बने ? भन्ने विषयमा पनि उत्तिकै बहस चुलिएको छ ।

यता, बहस चुलिनुका साथसाथै वडा अध्यक्षका आंकाक्षीहरु पनि उपल्लो तहमा सोर्स र फोर्स लाउन दौडधुपमा छन् । नगरपालिकाका वडामा शक्तिशाली दलका रुपमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने माहोल देखिएको छ ।

झापा क्षेत्र नं. ५ को शिवसताक्षी नगरपालिका र पाँचगाछी गाविसमा नै नेपाली कांग्रेसले संविधान सभाका दुइवटै चुनावमा बाजी मार्नु तथा क्षेत्र नं. ६ को धरमपुर गाविस गाभिनु अघि नेकपा (एमाले) ले पनि विशेषतः धरमपुर क्षेत्रकै कारणले संविधान सभाको चुनावमा दीपक कार्की निर्वाचित हुनु तथा माओवादी केन्द्र पनि एकाएक दुइवटै संविधान सभाका चुनावमा उदाएको हिसावले पनि यी तिन दल नै मुख्य प्रतिस्पर्धी हुने देखिन्छ ।
बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा विशेष गरेर कांग्रेसले आफ्नो मेयरदेखि लिएर वडाअध्यक्ष तथा सदस्य सम्मको छिनोफानो गर्न सकेको छैन भने एमाले तथा माओवादी केन्द्रले केही वडामा मात्र उम्मेद्वारको छिनोफानो गरेको छ भने राप्रपाले शिवसताक्षी नगरपालिकाको मेयरदेखि सबै वडामा वडाअध्यक्ष तथा सदस्य उम्मेद्वार तय गरिसकेको छ ।

करिब २० वर्ष पछि हुन गई रहेको स्थानीय निर्वाचनमा पुराना देखि नयाँ पुस्ता समेत आकांक्षी भएपछि पार्टीका नेतृत्व कर्तालाई मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ । सिङगो गाविस नै नगरपालिकाको वडामा गाभिएपछि वडाका स्थानीय स्तरका नेताहरु समेत नगरपालिकाको उम्मेद्वार ताक्न थाले पछि नेतृत्व कर्तालाई मिलाउन फलामको चिउरा चपाउनु सरह भएको छ ।

ठूला पार्टीमा टिकटको विवादका कारण अन्तरघात हुन सक्ने आंकलन समेत गर्न थालिएको छ । त्यस्तै पार्टी एकिकरण भएर आएको राप्रपा पनि उक्त नगरमा प्रतिस्पर्धि पार्टीको रुपमा स्थापित हुने विश्लेषकहरु बताउछन् । उनीहरुका अनुसार दुई वटा पार्टी एक ठाउमा आएर भोट जोडिदा अन्य प्रतिस्पर्धिलाई चुनौति दिने शक्तिको रुपमा स्थापित हुने सक्नेछन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रतिस्पर्धामा यी दुई उदयमान शक्तिले कुन शक्तिलाई फाईदा पुग्ने हो भन्ने आकलन गर्न सक्ने अवस्था छैन ।
यता, नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाका नगर संयोजक पर्शुराम ढुङ्गानालाई नेपाली कांग्रेसबाट वडा तहदेखि लिएर मेयरसम्मको आंकाक्षीहरु को रहेका छन् त भनेर सोध्दा उनले अहिले यो विषयमा केही नबोल्ने बताए भने एमालेका नगर अध्यक्ष धनबहादुर थेबे बिमार भएको बुझ्नमा आएकोले अर्का पार्टीपंक्तिका व्यक्तिलाई सोध्दा केही वडाहरुमा उम्मेद्वारहरुको आकांक्षी बढी देखिएकोले त्यस्ता वडाहरुमा जिल्ला तहले नै उम्मेद्वारको नाम सिफारिस गर्ने जानकारी दिए । त्यस्तै, माओवादी केन्द्रका नगर इञ्चार्जसंग बुझ्दा मेयर तथा उपमेयरको टुङ्गो केही दिनमा लाग्ने बताउनुका साथै केही वडाहरुमा वडाध्यक्षको उम्मेद्वार खडा गरिसकेको जानकारी दिए । यता पार्टी एकीकरण पश्चात राप्रपाले मेयरमा उमानाथ दाहाल र उपमेयरमा विष्णुमाया चौंलागाईं (रोजी) को नगरका सबै वडाहरुमा वडाध्यक्ष समेत खडा गरिसकेको छ ।

यता नगरपालिकामा साना दलमा उमेद्वार वनाउन खोज्नु पर्ने अवस्था छ भने ठूला पार्टीमा टिकट पाउन तछाडमछाडको अवस्था श्रृजना भई रहेको छ । अहिले ठूला पार्टीका तीन चार जना उमेद्वारको नाम चर्चामा आई रहेका छन् भने उनीहरुले यो निर्वाचनमा कुनै पनि हालतमा पार्टीले टिकट दिनुपर्ने दावी गरिरहेका छन् । चाहे जे होस्, कस्ता छन् त उम्मेद्वार तथा आकांक्षीहरु ?
वडा नं. १ :

साविक धरमपुर गाविसको वडा नं. ८ र ९ मिलेर बनेको वडा हो । लक्ष्मीनारायण माध्यमिक विद्यालय, धरमपुर मतदान केन्द्र रहेको उक्त वडामा कुल मतदाता संख्या ३ हजार २ सय ७७ रहेका छन् । उक्त वडाबाट वडाध्यक्षमा माओवादी केन्द्रबाट दुर्गा नेम्बाङ्ग तथा राप्रपाबाट नारायण थापाको मात्र नाम आएको छ । अन्य पार्टीहरुले भने उम्मेद्वारको छिनोफानो गर्न सकेका छैनन् ।
वडा नं. २ :

यस वडा साविक धरमपुर गाविसको वडा नं. ५, ६ र ७ हुन् । मोती माध्यमिक विद्यालय, लालपानी मतदान केन्द्र रहेको उक्त वडामा कुल मतदाता संख्या ३ हजार ६ सय ७५ जना रहेका छन् । उक्त वडाबाट पनि माओवादी केन्द्र र राप्रपाबाहेक अन्य पार्टीले वडाध्यक्षको उम्मेद्वार छिनोफानो गर्न सकेका छैनन् । माओवादी केन्द्रबाट भीम बहादुर नेम्बाङ्ग र राप्रपाबाट भने वडाअध्यक्षको उम्मेद्वारमा माया खड्कालाई अगाडी सारेको छ ।
वडा नं. ३ :

यस वडा साविक धरमपुर गाविसको वडा नं. १ देखि ४ हुन् । उक्त वडामा पाथिभरा आधारभूत विद्यालय, दिङलाधापमा ८ सय ३८ र भानु माध्यमिक विद्यालय, पाराबारीमा २ हजार ४१ जना गरी कुल मतदाता संख्या २ हजार ८ सय ७९ जना मतदाता रहेका छन् । उक्त वडाबाट माओवादी केन्द्रबाट बमबहादुर कार्की र राप्रपाबाट भाष्कर न्यौपाने रहेका छन् । अन्य पार्टीमा को वडाअध्यक्ष भन्ने कुरा अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।
वडा नं. ४ :

यो वडा साविक पाँचगाछी गाविसको १, ३, ४, ६ र ७ मिलेर बनेको हो । ४ मतदान केन्द्र रहेको उक्त वडामा त्रिभुवन मा.वि. पाँचगाछीमा ९ सय ७० जना, पाथिभरा निमावि, सालमारामा ९ सय ९२ जना, मञ्जुश्री मावि, रंगीयाथानमा १ हजार ३ सय ४२ जना र संयुक्त वडा कार्यालय, पाँचगाछीमा ७ सय ६० जना गरी कुल मतदाता संख्या ४ हजार ६४ जना रहेका छन् । वडाअध्यक्षमा राप्रपाबाट नातिलाल राजवंशी उम्मेद्वार रहेको वडामा अन्य पार्टीको को वडाध्यक्ष भन्ने छिनोफानो हुन सकेको छैन ।
वडा नं. ५ :

यस वडा साविक पाँचगाछी गाविसको वडा नं. २, ५, ८ र ९ हुन् । उक्त वडामा ३ मतदान केन्द्र रहेका छन् । जसमा कनकाई नहर कार्यालय, जनता बजारमा १ हजार २ सय ३८ जना, बालकल्याण आधारभूत विद्यालय, भेलामुनीमा ७ सय ७९ जना र सूर्योदय आधारभूत विद्यालय, सालमारामा ६ सय ७३ जना गरी कुल मतदाता संख्या २ हजार ६ सय ९० जना रहेका छन् । उक्त वडाबाट वडाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेद्वारको घोषणा भइसकेको छैन भने राप्रपाबाट सूर्य राजवंशी रहेका छन् ।
वडा नं. ६ :

साविक शिवसताक्षी नगरपालिकाको वडा नं. १ रहेको उक्त वडामा ३ मतदान केन्द्र रहेका छन् । जसमा जनआदर्श मावि, शिवगञ्जमा १ हजार ३ सय ८७, सरस्वती आधारभूत विद्यालय, हल्दीबारीमा १ हजार ७ जना र सामाजिक आदर्श आधारभूत विद्यालय, निपत्रियामा १ हजार ३ सय ३१ जना गरी कुल मतदाता संख्या ३ हजार ७ सय २५ रहेका छन् ।

उक्त वडाबाट कांग्रेस र एमाले बाहेक वडाध्यक्षको विषयमा छिनोफानो नभइरहेको अवस्थामा माओवादी केन्द्रबाट रमेश बुढाथोकी र राप्रपाबाट घनश्याम मैनाली उम्मेद्वार बनेका छन् ।
वडा नं. ७ :

यो साविक शिवसताक्षी नगरपालिकाको २, ३ र ४ मिली बनेको हो । उक्त वडामा ४ मतदान केन्द्र रहेका छन् । जसमा भानु मावि, लालझोडामा १ हजार ७ सय ४४, लालपानी मावि, लालपानीमा १ हजार १ सय ७१, शुक्र मावि, चन्द्रडाँगीमा १ हजार ३ सय ३८ जना र संयुक्त वडा कार्यालय, चन्द्रडाँगीमा १ हजार २ सय २१ जना गरी कुल मतदाता संख्या ५ हजार ४ सय ७४ रहेका छन् । वडाअध्यक्षमा राप्रपाबाट मणिप्रसाद खड्का उम्मेद्वार बनेको उक्त वडामा अन्य पार्टीले उम्मेद्वारको नाम घोषणा गरेका छैनन ।
वडा नं. ८:

साविक शिवसताक्षी नगरपालिकाको वडा नं. ५ र ६ मिलेर बनेको हो । ४ वटा मतदान केन्द्र रहेको उक्त वडामा अरुणोदय आधारभूत विद्यालय, स्कुलडाँडामा १ हजार ३ सय ४३, झिलझिले मावि झिलझिलेमा १ हजार ४ सय ५९, भगवती आधारभूत विद्यालय डुडाँमारीमा १ हजार ९९ र सरस्वती आधारभूत विद्यालयमा १ हजार ६ सय ५९ जना गरी ५ हजार ५ सय ६० कुल मतदाता रहेका छन् । उक्त वडाबाट कांग्रेस तथा अन्य पार्टी बाहेक उम्मेद्वार को हुने भन्ने छिनोफानो हुन नसकेको अवस्थामा एमालेबाट केहरसिंह बस्नेत, माओवादी केन्द्रबाट लक्ष्मी शिवाकोटी र राप्रपाबाट राममाया थापा रहेका छन् ।
वडा नं. ९ :

यस वडा साविक शिवसताक्षी नगरपालिकाको वडा नं. ८ हो । सतासी आधारभूत विद्यालय मात्र मतदान केन्द्र रहेको उक्त वडामा ३ हजार ८ सय ७२ मतदाता रहेका छन् । उक्त वडाबाट वडाअध्यक्षमा कांग्रेस र माओवादी केन्द्रबाट उम्मेद्वारको नाम सिफारिस भएको छैन भने एमालेबाट छबिलाल पाठक र राप्रपाबाट मानबहादुर फुयँललाई उम्मेद्वार बनाएको छ ।
वडा नं. १० :

शिवसताक्षी नगरपालिकाको साविक वडा नं. ९ रहेको उक्त वडामा ३ हजार ५ सय ३८ मतदाता रहेको उक्त वडाको मतदान केन्द्र बालनिकुञ्ज मावि, आँपटारी रहेको छ । उक्त वडाबाट वडाअध्यक्षमा कांग्रेस र एमालेबाट उम्मेद्वारको घोषणा भएको छैन भने माओवादी केन्द्रबाट पुष्प पौडेल र राप्रपाबाट मोहन गौतम रहेका छन् ।
वडा नं. ११ :

शिवसताक्षी नगरपालिकाको मुटु भनेर चिनिने उक्त वडा साविक वडा ७ हो । राष्ट्रिय रमणीय आदर्श माविमा ३ हजार १ सय ५४ जना र शहिद भीमनारायण आधारभूत विद्यालयमा २ हजार १ सय ५४ जना मतदाता रहेको वडामा ५ हजार ३ सय ८ जना मतदाता रहेका छन् । उक्त वडाबाट वडाध्यक्षमा कांग्रेसबाट उम्मेद्वारको छिनोफानो हुन सकेको छैन भने एमालेबाट भैरव श्रेष्ठ, माओवादी केन्द्रबाट सान बहादुर राई र राप्रपाबाट भवानी न्यौपानेको नाम पार्टीले सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर