Aamsanchar

सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

Author Image
बिहिवार, वैशाख ७, २०७४

तेह्रथुम।

पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् ।

तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमामा पर्ने यस क्षेत्रमा पूर्वी तराईका जिल्लाहरुका आन्तरिक पर्यटक र भारत लगायतका अन्य विदेशी पर्यटकहरु पनि गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउने गर्दछन् ।

साधारण उपचारका लागि समेत ४ देखि ६ घन्टासम्म पैदल हिँड्न बाध्य स्थानीयवासी तथा पर्यटक भरपर्दो उपचार लिन ५ घन्टा दूरीको वसन्तपुर र अझ टाढाको धरानसम्म पुग्न बाध्य थिए । तर चौकीबजारमै सहरी स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासीलाई जटिल समस्या बाहेकको सामान्य अवस्थामै टाढाका स्वास्थ्य संस्था धाउन नपर्ने भएको छ । उनीहरुको त्यही समस्यालाई ध्यानमा राखेर जिल्ला अस्पताल सङ्खुवासभाले स्वास्थ्य केन्द्र स्थापना गरेको केन्द्रका इन्चार्ज अहेब खगेन्द्र घिमिरेले बताउनुभयो ।

स्वास्थ्य केन्द्रबाट सामान्यतः स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवासुविधा दिइरहेको उहाँले बताउनुभयो । केन्द्र स्थापना भएपछि मादी नगरपालिका–१ र २ तथा तामाफोक–१ र २ का चौकीबजारसहित उम्लिङ, मनामसिंह, मविर, अरिहाङ, ताङपुर, आहालडाँडालगायत बस्तीका डेढ सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

केन्द्र स्थापना भएपछि सिटामोलकै लागि दिनभर पैदल धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी लीलाबहादुर खत्रीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, पखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको समेत सामान्य उपचार हुने गर्दछ । केन्द्रमा हाल एक अहेब र एक अनमी कार्यरत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर