Aamsanchar

निर्वाचन सुरक्षाबारे भारतीय सुरक्षा अधिकारीसँग छलफल

Author Image
शनिवार, वैशाख ९, २०७४

नेपालगन्ज।

बाँके जिल्लाको राप्तीपारि बघौडा क्षेत्रअन्तर्गत नेपालसँग सीमा जोडिएको क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग स्थानीय निकाय निर्वाचनका सन्दर्भमा यहाँका सुरक्षा अधिकारीहरुले छलफल गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा सो क्षेत्रको सुरक्षाको अवस्था र निर्वाचन तयारी व्यवस्थापन अनुगमनका लागि त्यहाँ पुगेको टोलीले निर्वाचनमा दुई पक्षबीच आपसी सुरक्षा समन्वय र सहयोगका विषयमा छलफल गरेको हो ।

“हाम्रो टोलीले सुरक्षा सहयोग र समन्वयका लागि आग्रह गरेको हो, भारतीय सुरक्षा अधिकारीहरुले आफ्नो तर्फबाट आवश्यक सबै प्रकारको सुरक्षा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्” – प्रजिअ पन्थको भनाइ छ ।

यसैगरी, टोलीले सो क्षेत्रको सोनारी र नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका प्रहरी चौकीका प्रमुख, निर्वाचन अधिकृतसँग पनि सुरक्षा र निर्वाचनको तयारीका विषयमा जानकारी लिएको थियो ।  जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राई, नेपाली सेनाका प्रमुख सेनानी विश्वराज कोइराला, निर्वाचन अधिकृतद्वय माधव शर्मा र सुरेन्द्र पौडेलसमेत रहनुभएको टोलीले त्यस क्षेत्रका मतदातासँग संवाद गर्नुका साथै निर्वाचन शिक्षा, निर्वाचन प्रचारप्रसारलगायतका विषयमा पनि जानकारी लिएको थियो ।

“सो क्षेत्रमा निर्वाचनको माहोल देखिएको छ, मतदाताहरु निर्वाचनमा मतदान गर्न आतुर देखिएका छन्, उनीहरु सबैको साझा चिन्ता भनेको सुरक्षा व्यवस्था बलियो बनाउनु नै रहेको छ” – प्रजिअ पन्थको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)