चितवन।
गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरस्थित घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि रु साढे दुई लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ ।
विभिन्न सञ्चारमाध्यममाबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । अझै सहयोग आउने क्रम जारी रहेको उनको उपचारमा संलग्न विकास पाठकले जानकारी दिनुभयो ।
चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका उनको उपचारका लागि पत्रकार रवि रोषीको पहलमा अमेरिकाको बाल्टिमोरमा बस्दै आउनुभएका तनहुँ निवासी ध्रुवराज गिरीले ५१ हजार १५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै, चितवन सेवा समाज बहराइनबाट वेदराज पौडेल र प्रकाश लामिछानेको पहलमा रु ३५ हजार ५०० सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारको लागि दुवईमा रहनुभएका दिलीप विश्वकर्माको अगुवाइमा ५१ हजार रुपैयाँ सङ्कलन गरी परिवारलाई उपलब्ध गराइएको आमा फुलमायाले जानकारी दिनुभयो ।
यस्तै, फेसबुक अभियान ‘हाम्रो जगतपुर’को पहलमा विभिन्न व्यक्तिबाट रु ३० हजार, हाम्रो पटिहानी राम्रो पटिहानीकोे पहलमा विभिन्न सहयोगीबाट पाँच हजार, एन जे सुवेदीबाट रु १० हजार, रामपुर क्याम्पस र टेक्नो म्यानेजमेन्टबाट दुई हजार २३५ रुपैयाँ सहयोग प्राप्त भएको सहयोग सङ्कलनका अभियन्ता विकास पाठकले जानकारी दिनुभयो ।
चेपाङको क्षेत्रमा कामगर्दै आएको लक्ष्मी प्रतिष्ठानले पाँच हजार, युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले पाँच हजार, माला दाहालबाट पाँच हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । बाँकी रकम विभिन्न क्षेत्रबाट एक हजार, दुई हजारको दरले सहयोग आइरहेको छ ।
यस्तै, समाजसेवी पूर्ण रिजालको प्रयासमा उहाँलगायत रत्ननगरका सूर्यनारायण श्रेष्ठ, केशव कर्माचार्य, कमलचन्द्र खनाल, नरेन्द्रराज पाठक र शिव चापागाईंबाट संयुक्त रुपमा पाँच हजार एकसय रुपैयाँ सहयोग गर्नुभएको छ ।
गएको चैत २५ गते भरतपुर महानगर २३ जगतपुर घैलाघारीका बालक अर्जुनलाई साथीसँग पौडीखेल्ने क्रममा गोहीले आक्रमण गरेको थियो । गोहीको आक्रमणबाट गम्भीर घाइते भएका उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।