चर्को छ धुन शहरको
ताता छन् भित्ताहरु
धुलाम्मे छ-गल्ली र बाटाहरु
विकास प्रसबमा आक्रान्त छ
शहर
आमा ! तिमि गाउँमै बस्नु ।।
चिनिँदैन छिमेकीहरु
मिल्दैनन् कथाका तालहरु
उस्तै छैनन् माइजु,बडी र
काकीहरु
पोथ्रामा चिरबिराउँदैन चराहरु
आमा ! तिमि गाउँमै बस्नु ।।
पर हाँगाको तुरलुङ्गे चराको गुँड
सर्सराउँदा हावाले रमाउने
तिम्रो मन
परेवाको प्रेममा अलमलिने
तिम्रा नजर भेटिन्न यहाँ-
आमा ! तिमि गाउँमै बस्नु ।।
माली गाईको दाम्लो
मनेको पानी खाने डेक्ची
सयपत्री सजाउने फराकिलो आँट
बारमासे,लालुपाते छर्ने
आँगन ठ्याम्मै भेटिदैन यहाँ
आमा ! तिमि गाउँमै बस्नु ।।
दियो आशाको कहिल्यै नमार्नु
आँखाहरुलाइ भन्ज्याङ तिरै
ओछ्याउनु
उकेरा हाल्नु पाइलाका डोब
संगीनीको सुसेलीले
कालो पत्रे आउने छ त्यहाँ
झोलुङ्गे पुल बोकेर
तिम्रो बिसन्चो हेर्न धाउने छ
अस्पताल त्यहिँ
सहरको सानो चोइटा बोकेर
आमा ! तिमि गाउँमै बस्नु ।।