Aamsanchar

सरकारले धाँधली गर्न खोज्यो -ओली

Author Image
बिहिवार, वैशाख १४, २०७४

काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताउनुभएको छ ।

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतङ्क सिर्जना गर्ने काम निर्वाचन विरोधी भएको आरोप लगाउनुभयो ।
दोस्रो चरणको निर्वाचनका लागि तय भएको जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो ।

उहाँले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराइसक्नुपर्छ भन्दै त्यसबीचमा प्रतिनिधिसभाको निर्वाचन नभए राजनीतिक र संवैधानिक सङ्कटमा जाने र निर्वाचन गराउन गैरदलीय सरकार बनाएको जस्तो विगतको घटना दोहो¥याउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु तमासाको विषय हो भन्दै उहाँले यस्तो अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो ।
एमालेको प्रचार क्षेत्रमा कार्यरत देशभरका प्रतिनिधि सहभागी भेलाको बन्दसत्रमा पार्टीका अन्य नेताहरुले अभिमुखीकरण गर्ने र प्रचारका योजना तय गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)