Aamsanchar

पहिलो पटक प्रत्यक्ष हिउँ देखेको , टेकेको, हिउँ बर्षिरहँदा हिडेंको र चाखेको

Author Image
बिहिवार, वैशाख १४, २०७४

[एकराज गिरी]


झापामै जन्मिएकाले पहाडको लामोबाटो पैदल यात्रा गर्ने अवसर मिलेको थिएन । मैले दुईवटा महत्वपूर्ण पैदल यात्रा जीवनमा पूरा गरेको छु । एउटा हो– तेह्रथुमको म्याङलुङदेखि संखुवासभाको नुुनढाकीसम्मको ।
माओवादी सशस्त्र युद्धका बेला इलाम पशुपतिनगर इलाका प्रहरी कार्यालयमा आक्रमण गरी अपहरण गरिएका ४० प्रहरीलाई मुक्त गर्ने मानवअधिकारवादी र सञ्चालकर्मी लगायतको टोलीमा मैले पनि सामेल हुने मौका पाएको थिएँ । र, म त्यहाँ पुगें । काठमाडौं, विराटनगरका नाम चलेका पत्रकार र मानवअधिकारवादी सहित ९÷१० जनाको टोलीमा म पनि सामेल हुनुपाउँनु गौरबको कुरा थियो । ८÷९ घण्टाको पैदल यात्रापछि त्यहाँ पुगी राति माओवादी छापामारको घेरामा रात बिताएर भोलिपल्ट विहानै आईसीआरसीको हेलिकोप्टर माथिबाट प्रत्यक्ष अवलोकन गर्दै ४० प्रहरीको अघि र पछि झण्डावाहक आइसीआरसीका सदस्यहरुकै साथ प्रहरी जिम्मा बुझेर हामी पनि लाम लागेर फर्कियौं । त्यसबेलाको परिस्थिति अनि ४० प्रहरीलाई सशस्त्र छापामारबाट मुक्त गरी जीवन बचाएको क्षण वास्तवमै अविश्मरणीय रह्यो । पैदल यात्रा अत्यन्त कष्टकर रहेपनि त्यो सफलताले आनन्दित तुल्यायो ।
त्यस्तै अर्को पैदल यात्राको अवसर जुटयो ०६८ चैत २३ गते । यात्रा थियो आश्थाकी धरोधर पाथीभरा माताको दर्शन, ताप्लेजुङ सम्मको । आठ बर्षअघि गुफा पोखरी, नुनढाकी पैदल यात्राको कष्टले सधैं झस्काइएरहेको मलाई कहिल्यै लामो पैदल यात्राका लागि आँट, उर्जा थिएन । पाथीभरा माताको दर्शन गर्ने तीब्र इच्छा भएपनि भाकल भने कहिल्यै गरिनँ । कारण थियो– लामो पैदल यात्रा । तर आफैं जुर्यो यो पटक अनि आँट पनि आयो । नभन्दै चैत २३ गते विहानै १५ जनाको टोली मोटरसाइकलमा हुईकियो ताप्लेजुङतर्फ । फोटो पत्रकार विनोद पाण्डे र म एउटै मोटरसाइकलमा । यात्रा रमाइलै हुन्छ । टिमै उस्तै थियो । इलाम, फिदिमको लामो गोलाई छिचोल्दै ताप्लेजुङको सीमा काबेली पुगियो । काबेलीबाट पुल तल खोलामा पुगेर पूजा ग¥यौं । पाथीभरा माताको दर्शन गर्न जाने तीर्थालुले काबेली खोलामा अनिवार्य पूजा गर्दारहेछन् ।
सीमसीम पानी पर्न थाल्यो । ताप्लेजुङसम्म नै भिज्दै हामी पुग्यौं । पुग्दा राति ८ बजिसकेको । होटल कहीं खाली छैन । ‘जरा’ होटलमा मोटरसाइकल राखेर व्याग विसायौं । खाना अर्डर गरियो । बासको लागि कहीं केही उपाय नलागेपछि बेटर र कुकले आफ्ना घरमा ‘पेइङ गेष्ट’ बनाए । त्यो सिजन रहेछ दर्शनको, अनुकूल मौसमको । त्यसैले भीडभाड ।
विहानै मोटरसाइकलमै लाग्यौ सुकेटार हुँदै गन्तव्यतर्फ । सुकेटारसम्म कालोपत्रे, त्यस उता कच्ची । रातभरको बर्षा त्यसमाथि ट्याक्टर र फोरह्वील गाडीले मोटरसाइकल चल्नेस्थिति थिएन बाटोमा । ठेलठाल गर्दै चार मोटरसाइकल तल्लो फेदी(भालुगौडें) पु¥याइयो भने चार देउराली मै थन्किए । पछि छोडिएकासहित सबै जना तल्लोफेदि(भालु गौडें)मा जम्मा भयौं । अघि पुग्नेले अर्डर गरेको खाना खाएर व्याग भीरेर लाठी टेक्दै उकालो लाग्यौं । उकालोमा श्वास बढी स्वाँ–स्वाँ हुन्छ नै । तर मुखमा चकलेट, अन्य खाद्यवस्तु राखिरहँदा खासै अनुभूति हुँदो रहेनछ । आराम गर्दै गर्दै तीन घण्टामा माथिल्लो फेदी पुग्यौं । त्यहाँ दर्जन बढी गेष्ट हाउस छन् । चिया खाजा खायौं ।
मौसम प्रतिकूल तर हाम्रो लक्ष्य डाँडा मै(मन्दिर) पुग्ने थियो । जाने र बस्नेमा केही बेर हाम्रो गु्रपमा बहस भयो । स्थानीयहरुले समेत नजान सल्लाह दिए ।डाडामा गएर रात बिताउन उनीहरुसमेत आँट गर्दा रहेनछन् । हिउँ परिरहेछ, कक्रेर मर्छौसम्म भने । मलाई डर लाग्यो– चिसोले छिट्टै सताउने भएकाले पनि । सबैले मलाई नै सोध्न थाल्नु भयो– के गर्ने ? जानै पर्छ भन्ने उहाँहरुको जोड थियो, बहुमत पनि । मैले राति चिसोले समस्या होला भनेपछि हाम्रो टोलीका अगुवा देवीप्रसाद गिरीले आफ्नो ज्याकेट खोलेर ओढाउनेसम्मको आँट दिए पछि हामी बास वस्न डाँडा मै पुग्ने निर्णयमा पुग्यौं । छ जना त्यहीं रहने भए । नौ जनाको टिम अघि बढ्यो ।
युरिया दाना भन्दा केही ठूला असिना बाक्लै बर्षा, पानी पनि सीमसीम । हामीले ‘रेनकोट’ लगाइसकेका थियौं । जाने नै भएपछि समय कम भएकाले बाटो लाग्यौं । माथिल्लो फेदीबाट पूरै जंगलको मात्र बाटो छ । माथिल्लो फेदीमै कान्छीदेवीको थान छ । त्यहाँबाट सेतो धागो तानेर माथि मन्दिरसम्म पु¥याइएको छ । यसो गर्दा दीर्घायु प्राप्त हुनुको साथै जीवनमा सुखप्राप्ति हुने विश्वास रहेछ । पहिलो पटक गएको र प्रतिकूल मौसमका बाबजुत छोटो समय समेतलाई ख्याल गरी डाँडामै पुग्नुपर्ने भएकाले कान्छी थानको दर्शन भुसुक्कै विर्सिएछ । हामी अघि बढ्दै जाँदा जंगलबीचमा पानी दर्कन थाल्यो, गड्याङ गुडुङ आवाजले छेउमै चट्याङ पर्दा माता पाथीभराको नाम पुकार्नु बाहेक सहारा केही थिएन । मर्ने बाँच्ने निश्चित नभए झैं लाग्यो ।

साना रुख र पोथ्रामा लेपासिदै ज्यान जोगाइयो । माथिल्लो फेदीबाट हामीलाई तीन घण्टाको बाटो रहेछ डाँडा पुग्न । स्थानीय र अलि फूर्तिलोलाई दुई घण्टा । बाटामा फुल्न लागेका गुराँसका पोथ्रा,कहीकही त फुल्नै थालेका । डाँडापुग्न एक घण्टा तलबाट हिउँ शुरु भो । मैले जीवनमा पहिलो पटक प्रत्यक्ष हिउँ देखेको , टकेको, हिउँ बर्षिरहँदा हिडेको र चाखेको । हिउँको त अचार समेत खान्छन् भन्ने सुनेको थिएँ । चाख्दा नुनिलो झैं लाग्यो । स्वाँ स्वाँ गर्दै बल्ल तल्ल पाइला चाल्दै अघि बढ्दा हिउँ भेटेपछि मनै आनन्दित भो । भेडाको उन जस्तो हिउँ बर्षिरहेको त्यस्तो दृश्य जीवनमै पहिलो पटक देख्दा खुशीको सीमा थिएन । त्यसअघिका सारा कष्ट विर्सेजस्तै । अलि अलि भेटिने गुराँसका फुल भेट्दा मनै फुलेजस्तो ।डर भने कायमै थियो राति कक्रिएर मरिएलाकि भन्ने ।
हिउँमा त्यसरी हिंड्दा अन्दुवाको टुक्रा, सातु, ल्वाङ,ग्लुकोज जस्ता बस्तु मुखमा राख्दा फाइदै पुग्दो रहेछ । अन्दुवाले त हिउँले खादैृन मान्छेलाई, लोकलाग्दैन भन्ने विश्वास छ अर्को यात्रा पनि सहज लाग्दो रहेछ । हामी साँझमा मात्र पुग्यौं डाँडामा ।
डाँडामा जसो तसो ज्यान पु¥याइयो । पुगेर हेर्दा आँखाले भ्याएसम्म सेताम्मे हिवै हिउँ । सारा कष्ट भुलियो । मनै प्रल्फुल्लित । दैवी शक्तिको वास्थान त्यहाँ माथि हिउँको आनन्दले गद्गद् नहुने को होला र ? तर साँझ छिप्पिन लागेकाले साथीहरु धर्मशालामा सुत्ने ठाउँ र आगो ताप्ने व्यवस्थापनमा लाग्नु भयो भने देवीप्रसाद गिरी र म कपडा व्यवस्थापनका लागि पुजारीलाई भेट्न । संयोग पनि कस्तो, सायद जुरेकै होला । हामी पूजा स्थलको मूलद्वारमा पुग्नु पनि पुजारीहरु साँझको पूजाका लागि धुपबाती बालेर कुटीबाट निस्कनु । त्यहीं उभिएरै परिचय भयो ।अनि पाथीभरा माताको दर्शन साँझैमा ग¥यौं पुजारीका साथ आरती गर्दै । पुजारीहरुले कुरा पनि गर्नुभयो–‘तपाईहरुले जस्तो संयोग जो कसैले भेट्दैन, यस्तो शुभसाइतमा माताको दर्शन पाउनुभयो ।’ त्यस प्रसंगले झन उत्साहित तुल्यायो ।
दर्शन र पूजा पछि हामी पुजारीकै कुटीमा पुग्यौं र विस्तृत कुरा सहित ओढ्ने ओछ्याउनेको माग ग¥यौं । दर्जनको हाराहारीमा धर्मशाला तर अव्यवस्थित । आगो बाल्ने दाउरा, ओढ्ने ओछ्याउनेको प्रबन्धपछि धर्मशाला छि¥यौं । विनोद भाइलाई चिसोले सताएर श्वास फेर्न गाह्रो भइसकेको रहेछ । आगो ताप्ने लगायतका व्यवस्था मिलाइस्थिति सहज पारियो । रातिको खानाको रुपमा हामीले माथ्लोफेदीबाटै चाउचाउ, फ्रुटी, चिउरा, पानी बोकेका थियौं । त्यत्रो हिडेर जाँदा पनि खासै भोकको अनुभूति भएन तर राति के हो के हो भनेर धेरथोर खायौं । हामीले पूजारीलाई प्रसंग कोटएका थियौं– नुहाउने । विहान नुहाएर माताको दर्शन गर्ने भनेर । जवाफ पाइयो–‘हामी तपाईहरुलाई नुहाउन दिँदैनौं, केही भो भने कस्ले जिम्मा लिन्छ । हामी त हप्तामा एक पटक नुहाउँछौं ।’ पुजारीको कुरा मान्नै प¥यो नि नत्र… ।
कपडामा गुटमुटिएर जसोतसो रात काटियो । कष्टभए पनि देवीको समिपमा रहन पाउदा सारा कुरा भुलियो ।हाम्रो यात्राको तेस्रो दिन । धर्मशालाको विश्रामबाट विहानै उठ्यौं । मिनरल वाटरले मुख धोई माताको दर्शनका लागि अघि बढ्यौं । अघिल्लो दिन माथ्लोफेदीमा बस्नेहरु डाँडामा आउन थालिसकेका थिए । दिन खासै ओघ्रिएको त थिएन तर भुइँ हिउँले केही देखिदैनथ्यो । धर्मशाला, पूजारीका कुटीका छाना, पूजास्थल सबै हिउले ढाकेका थिए । जुत्ता खोलेर त्यस्तो अवस्थामा पूजा गर्न सम्भव रहेनछ । सबैले जुत्ता लगाएरै देवीस्थल वरिपरि घुमेर पूजा सक्यौं, भेटी चढयौं, प्रसादसहित केही भेटी ल्यायौं, मनकोमना राख्यौं । हिउँमा खेल्दै तस्वीर खिचायौं ।
त्यहाँ चढाएको मध्ये थोरै भेटी ल्याएर घरको पूजास्थलमा राख्दा,व्यवसायमा लगाउदा आर्थिक समृद्धि प्राप्त हुने विश्वास छ । कतिले त रिण स्वरुप यति वर्षमा तिर्छु भनेर व्यवसाय सुरु गर्न त्यहाँको रकम ल्याउने र कबोलेको भाकामा लगेर तिर्ने गरेका छन् ।त्यसरी सुरु गरेको व्यवसाय राम्रो संग फस्टाएको अनुभवीहरुको भनाइसमेत छ ।
डाँडा जहाँ माताको पूजा गरिन्छ, हामी थियौं ३ हजार ७ सय ९४ मिटरको त्यो मनमोहक तीर्थस्थलमा । अन्नले भरिएको पाथी आकारको शिखरमा अवस्थित भएकाले पाथीभरा नाम रहन गएको जनविश्वास छ । सत्य युगमा माता पार्वतीले उक्त स्थानमा बसी तपस्या गर्दा आफ्नै शरीरबाट पाँच कन्या–कालिका, अम्बिका, चण्डिका, सिद्धिका र शक्तिकाको उत्पत्ति भएको किम्बन्ती छ । अर्को एउटा चर्चित र रोचक प्रसंग पनि छ पाथीभरासँग । गुरुङ समुदायका एक गोठालाले गोठ सार्ने क्रममा एक्कासी भेडा हराएपछि खोजी गर्दा हैरान भएका उनलाई सपनामा एक महिलाले धुपबात्तीले आफ्नो पूजा आराधना गरे तुरुन्तै भेडा छाडिदिने ‘वाणी’ दिएको विश्वास छ । गोठालाले पनि त्यसै गरेपछि भेडा फिर्ता भएको विश्वासका साथ त्यहाँ मनोकामना पूराहुने आशाले श्रद्धालुको भीड बढ्दै गएको छ ।
पाथीभरा क्षेत्रमा ३२ बढी प्रजातिका गुराँस, चिमाल, डाँफे, मुनाल जस्ता चराचुरुङ्गी र अन्य बन्यजन्तु हेर्न पाइने ताप्लेजुङका पत्रकार आनन्द गौतम बताउनुहुन्छ । त्यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथा जस्ता हिमश्रृंखला र भारतको दार्जीलिङ लगायतका सहर हेर्न सकिदो रहेछ । मन्दिर परिसर ठूलै छ । वरिपरि ढुंगाको वाल र घेराबारा छ । प्रवेशद्वार(गेट) छ । भित्रै ५÷६वटा धर्मशाला, गेट बाहिरपटि उत्तिनै संख्यामा । पानी, शौचालयको प्रबन्ध छैन । विद्युत पनि छैन । यसबर्ष विद्युत प¥याएर टेलिकमले समेत टावर राखी सेवा विस्तार गर्ने, पानी व्यवस्थापनको काम सुरु भएको छ । मन्दिरमा भेटी स्वरुप चढाइएका दक्षिणाको उचित व्यवस्थापन हुन सकेको छैन । सिक्का र सानो नोट त्यसै खेर गइरहेका छन् । पुजारीहरुले ठूला नोट मात्र संकलन गरेको देखिन्छ ।त्यसो गर्दा पनि यस वर्ष ४५ लाख बढी दान,भेटी संकलन भएको छ । सबै भेटीको उचित व्यवस्थापन हुन सके पाथीभरा क्षेत्रको विकासमा कसैको मुख ताक्नु पर्दैन । त्यहाँ पुग्ने जो कोहीलाई यही अनुभूति हुन्छ ।
घाम लागेर हिउँ टल्कने बेलासम्म बस्ने तीब्र इच्छा दबाएर अत्यन्त चिसोका कारण पूजा पछि हामी ओरालो झ¥यौं । ठाउँठाउँमा ढुंगाका सिढी उत्रदै, हिउँलाई बाइवाइ गर्दै जंगलको बाटो छिचोल्दै । फर्कदा बाटोमा डाँडा तर्फ गइरहेका लस्कर उत्तिकै,बलीका लागि बोका, कुखुरा साथ मै लिए । हामीले भने बिना बली पूजा सकेका थियौं ।डाँडामा बली दिँदा रगत बाहिर देख्न पाइदैन भनिन्छ । त्यहाँ बली दिएपछि बोका, कुखुरा माथ्लोफेदी, तल्लो फेदीमा ल्याएर पकाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन पनि छ । बाटामा कान्छीदेवी थानबाट दीर्घायु प्राप्त होस् भन्ने कामना गर्दै काँचो धागो तानेर डाँडातर्फ गइरहेका र अरु कैयौं तीर्थयात्रीसँगको जम्का भेट पार गर्दै ओर्लियौं । तल्लोफेदीबाट जाँदा ६ घण्टा लागेपनि फर्कदा ओरालोमा ३ घण्टा मात्र लाग्दोरहेछ । हिडेर डाँडा पुग्न नसक्ने बृद्ध–बृद्धा, केटाकेटीका लागि भरियाको पनि व्यवस्था छ । उमेर र मान्छे हेरेर प्रतिव्यक्ति ५देखि १० हजारसम्म लिंदा रहेछन् भरियाले पु¥याएर ल्याएको । हामीले अघिल्लो दिन अपरान्ह जाँदा छुटाएको कान्छीदेवी दर्शन गर्यौ ।
खुत्रुक्क ओर्लियौं माथ्लोफेदीमा । त्यहाँ नास्ता गरेर खाना खान अघिल्लो दिनकै स्थल तल्लोफेदी झरियो । पानीले बाटो हिलो र चिप्लो पारेकाले मोटरसाइकल सिंगल मात्र गुड्ने भो, हामी पछि बस्ने सुकेटारसम्म झण्डै आठ घण्टा हिडेर पुग्यौं । त्यहाँबाट मोटरसाइकलमा पाँचथरको अमरपुरमा बास बसी भोलिपल्ट साँझ बिर्तामोड पुगियो । त्यहाँबाट यात्रामा सहभागी राजनीतिकर्मी,समाजसेवी,व्यवसायीहरु एवं पत्रकारहरुरु देवीप्रसाद गिरी,नारायण राजवंशी,हेम खड्का,बिनोद पाण्डे,विष्णु भट्टराई,रञ्जित प्रसाई,रमेश थापा,सरोज खड्का,मनोज बराल,विष्णु शिवाकोटी, गोमा शिवाकोटी,राजेश गिरी,किरण रिजाल,प्रेम घिमिरे र म एकराज गिरी सबै लाग्यौं आ–आफ्नो घरतर्फ यो दोस्रो र महत्वपूर्ण पैदलयात्रालाई मैले जीवनकै अविश्मरणीय पनि ठानेको छु ।
वास्तवमा आध्यामिक र प्राकृतिक सुन्दरताको अनुपम नमूना पाथीभरा माताको दर्शन एकपटक जो कोहीले पनि गर्नु अनिवार्य जस्तै लाग्छ त्यहाँ पुगेर आउनेलाई । एक पटक गएपछि अर्को पटक पनि जाउँजाउँ लाग्छ, पुगिसकेपछि त्यहाँ पुग्दाको कष्ट सबै हरण नै हुदोरहेछ । धार्मिक पर्यटनको उत्कृष्ट स्थल पाथीभरा क्षेत्रको प्रचार र विकासमा सरोकारवालाले ध्यान दिन ढिलाई गर्नु ुहन्न । हाम्रो सम्पदाहरु मध्ये आस्थाको केन्द्र पाथीभरा माताले सबैको कल्याण गरुन् । [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर