झापा ।
गर्मीले थकित भएको बेला वीरेनुन, कागती र पुदिनाको पात हालेर पानी पिउन पाइयो भने शरीरलाई पानी त पुग्छ नै कागतीमा रहेको भिटामिन सी र पुदिनाको पातले रोगसँग लड्ने क्षमता बढाउँछ । गर्मी सुरु हुने बेलामा नै अक्षय तृतीयाको दिन कागती र सौफको सर्बतसँगै जौको सातु खाने चलन अझै छ । सानो छँदा हामी सर्बत, जौको सातुसँगै पाइने दक्षिणाको लोभले छरछिमेकी, ठूलीआमा, सानीआमा सबैकहाँ जान्थ्र्यौं । बिहानको भोजन त त्यही नै हुन्थ्यो ।
कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेला हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ, गर्मीमा शरीरलाई चाहिने पानी पर्याप्त ऊर्जा हुन्छ । अपसोच यो छ कि सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर त अक्षय तृतीयाको दिन पनि प्याकेटका फलफूलको महँगो र स्वास्थ्यलाई हानि पुर्याउने फलफूलको नक्कली रस, चिसा पेयपदार्थ प्रयोग गरिन्छ ।
चिसो पेयले नोक्सानी
अहिलेको नयाँ पिँढीलाई त सायद अक्षय तृतीयामा जौको सातु खाइन्छ भने थाहा पनि नहोला ! भ्यालेन्टाइन डेमा गुलाबको फूल दिइन्छ भने चाहिँ थाहा छ ! गर्मीको सुरुवातसँगै चिसो पेयपदार्थ (अस्वस्थ्यकर तर महँगो) को बिक्री बढछ । यस्तो चिसो पेयपदार्थले हड्डीहरू कमजोर गराउँछन् । तर गर्मीको बेलामा एक दिन ‘स्वाद’ पाइन्छ भनेर त्यस्तो चिसो पेयपदार्थ त आफ्नो जीवनबाट हटाएकै राम्रो ।
म व्यक्तिगत रूपमा कागतीलाई ‘औषधिको डल्लोे’ भन्छु र दैनिक जीवनमा कमसेकम दुईवटा कागती चिया, सर्बत दाल आदिमा मिलाएर प्रयोग गर्छु । कागतीमा पाइने एउटा महत्ववपूर्ण तत्वव हो भिटामिन सी र भिटामिन सीको महत्ववको बारेमा अहिले त धेरैले थाहा पाइसकेका छन् । भिटामिन सीले रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।
शायद कागतीको महत्वव बुझेर नै होला पहिले पहिलेका वैद्यहरूले भनेका छन् ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन ।’ कागतीमा रहेको भिटामिन सीले भोजनमा रहेको लौह तत्ववलाई शोषण गर्नमा मद्दत गर्छ । कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई भिटामिन सीको चक्की दिन्छन् र खानासँग खानु भन्छन् । एकदम कम स्वास्थ्यकर्मीले मात्र कागतीको रस भोजनसँग मिसाएर खानु भन्छन् । कागतीको रस मिसाएर भोजन खानुभन्दा औषधि कम्पनीहरूको फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन ।
रक्तअल्पता कम
फलामको भाँडोमा पकाएको दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलाको रक्तअल्पता कम हुन सक्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भनेर १७औं शताब्दीमा पत्ता लागेको हो । शरीरको अतिरिक्त क्रियाकलापलाई सुचारु गर्न यो एसिडको महत्वव छ, यो कागतीमा सहजै पाइन्छ । भिटामिन सीले भरिपूर्ण कागतीको प्रयोग धेरै गरिन्थ्यो होला । यदि कागती विदेशबाट प्याकेटमा आउने र ठूलाठूला पसलमा महँगोमा बेचिने भएको भए । तर फुटपाथमा वा तरकारी पसलमा जताततै पाइने हुनाले यसलाई महत्वव दिइएको देखिँदैन ।
कागतीको चिया जब ‘लेमन’ टी भनेर पाँचतारे होटेलमा एक सय ५० रुपैयाँमा बेचिन्छ, हामी मीठो मानेर खान्छौं । सजिलै पैसा तिर्छौं । तर त्यही कागतीको रस हालेर चियाको सर्बत खान वा पाहुनालाई सत्कार गर्दा पाहुनाले अपमान गरेको ठान्लान् कि भनेर हामी डराउँछौं । गर्मीको बेला स्वास्थ्यकर कागतीको सर्बत हामी दिन हिचकिचाउँछौं ।
कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । रुघाखोकी लाग्दा कागतीपानी र मह खानुपर्छ भनेर धेरैजनाले थाहा पाएर प्रयोग गर्छन् । स्वास्थ्यकर्मीले पनि पछिल्लोपटक यस्तो सल्लाह दिन थालेका छन् । कागतीलाई दैनिक भोजनमा प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेक चोटी मौसम बदलिँदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने तथ्य चाहिँ प्रायः छलफलमा आउन थालेको छ।
गाउँघरमा गर्भवती महिलालाई वाकवाकी लाग्दा कागती खानु भनेर सल्लाह दिइन्छ । यसले वाकवाकी कम गर्छ । तर सहरमा यस्तो सल्लाह दिने व्यक्ति छैनन् र महिलालाई वाकवाकी आयो भने तुरुन्तै औषधि नै प्रयोग गर्छन्/गराउँछन् । सहजै पाइने कागतीको रसको सहरमा वास्ता हुँदैन । कागतीको प्रयोगले खाना पचाउन र कब्जियतबाट बचाउन मद्दत गर्छ ।
जाडोको बेला कागतीको रस मनतातो पानीमा हालेर खानदिने चलन हाम्रा अभिभावकले पहिलादेखि नै ल्याएका हुन् । यतिमात्र होइन कागतीको रसले हैजाको कीटाणु वृद्धि हुन रोक्छ भनेर नेपालमा गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ । दुःखलाग्दो कुरा खुमलटार ‘नेपाल एकेडमी अफ साइन्स र टेक्नोलोजी’ बाट गरिएको यो अनुसन्धान साधारणको जानकारीमा आएन । यस्तो महत्ववपूर्ण अनुसन्धानको व्यावहारिक प्रयोग हुन अझै पाएको छैन ।
म त घरमा आएका पाहुनालाई कागतीको चिया नै दिन्छु । काठमाडौंबाट बाहिर जाँदा कागती नपाइन सक्छ भनेर ४–५ वटा कागती सँगै बोकेर हिँड्छु । कागतीको बोक्रा चाहिँ टुक्रा पारेर चियामा नै हालेर खान्छु । प्रायः कागतीको रस प्रयोग गर्ने व्यक्तिले कागतीको बोक्रा फ्याक्छन् । कागतीको बोक्रा पनि स्वास्थ्यको लागि लाभदायक छ । कतिचोटी त हामी काम नलाग्ने व्यक्ति वा वस्तुलाई ‘कागतीको बोक्रा जस्तो काम नलाग्ने’ भन्ने उपमा दिन्छौं ।
कागतीको बोक्रामा रेसादार पदार्थ र केही मात्रामा क्याल्सियम पनि पाइन्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले शरीरमा बोसो घटाउन मद्दत गर्दछ भनेर देखाएका छन् । कागतीको बोक्रा कसरी खाने भनेर अलमल हुन सक्छ । तर कागतीको रस निकाल्नुभन्दा अघि कागती धोएर काट्ने र रस निकालेपछि बोक्रालाई सानोसानो टुक्रा पारेर सलादमा हालेर खाने हो भने यो हितकारी हुन्छ ।
सुरुमा स्वाद तीतो लागे पनि पछि बानी बस्छ । यदि तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रा सुकेपछि सिसीमा नुन हालेर केही दिन घाममा राखेपछि बोक्रा अचारमा बदलिन्छ र भात, रोटी खाँदा दालमा हालेर खान सकिन्छ । कागतीको रस, बोक्रा सबै स्वास्थ्यको लागि यति लाभदायक छ भने गर्मीमा ‘चिसो’ पेयको सट्टा कागतीको सर्बत पिउने बानी किन नबसाल्ने ?- अन्नपूर्णबाट