Aamsanchar

कनकाई उद्योग वाणिज्य संघको दोस्रो साधारणसभा

Author Image
शुक्रवार, वैशाख १५, २०७४

सुरुङ्गा ।

उद्योगी–व्यवसायीले स्थानीय तहको निर्वाचन समयसीमाभित्रै सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् । बैशाख ३१ गतेलाई देशभर निर्वाचन मिति तोकेको सरकारले पुनः दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन हुनेमै जनमानसमा आशंका उब्जिरहेको समय–सन्दर्भमा निजी आर्थिक क्षेत्रले अब कुनै पनि बहानामा तालिका फेरवदल नगरी तोकिएको समयमा सबै प्रदेशको निर्वाचन गरिनुपर्नेमा जोड दिएको हो । थुप्रै अधिकार प्राप्त हुने स्थानीय तहको निर्वाचन घोषणाले निजी क्षेत्र निकै उत्साहित भइरहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उमेश डालमियाले शान्तिपूर्ण रुपमा निर्वाचन सकिएसँगै विकासका नयाँ ढोकाहरु ख्ुल्ने विश्वास व्यक्त गरे ।

झापाको कनकाई उद्योग वाणिज्य संघको दोस्रो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि डालमियाले स्थानीय तह निर्वाचनको माहोल बनाउन उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

संघका अध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा महासचिव सोमनाथ उप्रेतीले सञ्चालन गरेको साधारणसभाका विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य राजेन्द्र घिमिरेले स्थानीय तह निर्वाचनमा आर्थिक समृद्धिका योजना लयाउन र कार्यान्वयन गर्न सक्नेहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

कनकाई क्षेत्रमा रहेर ०७२ को एसएलसीमा उत्कृष्ट अंक ल्याउने दुईजना सामुदायिक र दुईजना संस्थागत विद्यालयका छात्रछात्रालाई सम्मानसहित छात्रवृत्ति पुरस्कारसमेत प्रदान गरिएको साधारणसभामा शुभकामना मन्तव्य राख्दै विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले स्थानीय तहको निर्वाचनको सन्दर्भ पारेर राजनीतिक दलहरुले सार्वजनिक गरिरहेका घोषणापत्र उद्योग–व्यवसायमैत्री देखिएको भन्दै कार्यान्वयन गर्न आग्रह गरे ।

स्थानीय सामुदायिक विद्यालय कनकाई माविका भावना पोखरेल र भरत भट्टराई तथा संस्थागत विद्यालयतर्फ पशुपति अंग्रजी स्कूलका चन्द्रप्रकाश यादव र भारतीकुमारी साहलाई पुरस्कृत गरिएको समारोहमा सुरुंगा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, स्थानीय भगवती साकोसका सञ्चालक सदस्य सूर्य उप्रेती, संघका पूर्व अध्यक्ष रुद्र चिमरिया, समाजसेवी राजेन्द्र पोखरेल, कनकाई अतिथि सदनका जग्गादाता टिकाप्रसाद तिम्सिना, तत्कालीन सुरुंगा गाविसका पूवृ अध्यक्ष भीमप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने समारोहका अध्यक्ष कुमारमणि पोखरेलले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा संघले गरेका कामहरु र आगामी कार्ययोजना समेटिएको छ । साधारणसभा संघकै नवनिर्मित कनकाई अतिथि सदनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर