Aamsanchar

पहिलो चरणको चुनावका लागि आज उम्मेद्वारको मनोनयन दर्ता

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

काठमाडौं,

पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका वा नगरपालिका केन्द्रमा मनोनयनपत्र दर्ता गर्न सकिनेछ ।

मनोनयनका लागि सबै तयारी पूरा भइसकेकाले ढुक्क भएर दर्ता गर्न आयोगका प्रवक्ता शर्माको आग्रह छ । मनोनयन दर्ता गर्दा लामो प्रक्रिया हुने भएकाले समयमा नै गर्न पनि उहाँको सुझाव छ । प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा यही वैशाख ३१ गते पहिलो चरणको चुनाव हुँदैछ र यहि चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नु पर्ने आयोगले जनाएको हो  ।

मनोनयन दर्ताका लागि उम्मेद्वारले नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित वडा वा स्थानीय तहको मतदात नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी तिरेको रसिद, प्रस्तावक र समर्थकको हस्ताक्षार, राजनीतिक दलको भए पार्टीको आधिकारिक छाप लगायत अनिवार्य लैजानु पर्छ । धरौटीका लागि वडा सदस्यले ५ सय रुपैयाँ, वडा अध्यक्षले एक हजार रुपैयाँ र गाउँपालिका तथा नगरपालिको प्रमुख/उपप्रमुख तथा मेयर/उपमेयरले १५ सय रुपैयाँ बुझाउनु पर्छ ।

यस्तै पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार आयोगले मंगलबार बेलुका साढे ५ बजेतिर मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको सूचि प्रकाशन गर्नेछ । दर्ता भएका उम्मेद्वारको बारे कुनै गुनासो भए बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ । त्यही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र जाँच गर्ने कार्य तालिका छ ।

यस्तै बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्नछ । नाम फिर्ता लिन चाहने उम्मेद्वारले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म नाम फिर्ता गर्न सक्नेछन् । यहि वैशाख ३१ गते हुने चुनावका लागि २२ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर