Aamsanchar

देउमाईमा ‘देवस्थल फेला’

Author Image
मङ्गलवार, जेठ २, २०७४

इलाम।

इलाम जिल्लाको देउमाई नपा–५(साविक धुसेनी गाविस–२) सिङलप्पामा देवस्थल फेला परेको छ ।
प्रशिद्ध धार्मिक स्थल गजुरमुखीधामदेखि लगभग ९ किमीमाथि देउमाईखोलाको किनार सिङलप्पास्थित सात तले घाटमा स्थानीयवासी एक व्यक्तिले सपनामा देखेर उत्खनन् गर्न जाँदा विभिन्न देवीदेवताका आकृति भएका शिलाहरु भेट्टाइएका हुन् ।
२०७३ फागुन २२ गते स्थानीय व्यक्ति धनबहादुर कार्कीलाई राति सपनामा आफ्ना पितृहरुले त्यस ठाँउमा देवीदेवताहरु अलपत्र परेर बसेका छन्, तिमीहरू गएर संरक्षण गर्नु भनेर संकेत गरेको बताइएको छ ।

त्यसको दुई दिन पश्चात साथीहरू लिएर खोलाबगरमा खन्दा गणेश भगवानको मूर्ति र वासुकी नागको चित्र भएको शिला भेट्टाएको र एक सय मिटर नजिकै रहेको गुफामा राखी फागुन २८ गते देउमाई नपा–४का धामीगुरु शिखरबाबा (टंक खनाल)को सहयोगमा जट्टेश्वर महादेव, कार्तिकेश्वर महादेव, कछुवेश्वर महादेव, कोलधारी महादेव, शिवलिङ्ग, ज्योतिर्लिङ्ग र चक्र भेटिएको थियो ।

खेलबहादुर डाँगीको अध्यक्षतामा मन्दिर निर्माण समिति तयार गरी स्थानीय सहयोग नौ लाख पचास हजार रुपैयाँ जुटाएर गुफामा मन्दिर निर्माण गरिएको छ ।बैशाख ३० गते शिखर बाबाको प्रमुख अतिथ्यमा मन्दिर उद्घाटनको कार्यक्रम भएको र बाबागुरुद्वारा जट्टेश्वर महादेव मन्दिरको नामकरण समेत गरेको समिति सदस्य सूर्य कार्कीले बताए । यस मन्दिरमा विहान बेलुका उत्खननकर्ता धनबहादुर धामीले पुजारीको रुपमा पूजापाठ गर्दै आएका छन् ।

हाल उनी पहिलाको भन्दा फरक प्रकृतिको स्वभावमा परिवर्तन भइ मासु नखाने, भविष्यबाणी गर्ने, ध्यानमग्न रहने गरेको समितिका अध्यक्ष डाँगीको भनाइ छ ।अनौठो चमत्कार देखापरेको खबर सुनेपछि मन्दिर र यहाँ भेट्टाइएका देवी देवताका शिला हेर्न दिनहुँ भक्तजनको भीड लाग्न थालेको सदस्य कार्कीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१