Aamsanchar

लागूऔषध सेवनकर्ताको संख्या दुई लाख

Author Image
शनिवार, जेठ ६, २०७४

बिर्तामोड।

नेपालमा दुई लाखको हाराहारीमा लागूऔषध सेवनकर्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।  गृहमन्त्रालय र लागूऔषध नियन्त्रण इकाई काठमाण्डौंको आयोजनामा शुक्रबार झापाको विर्तामोडमा लागूऔषध दुरुपयोग विरुद्ध एक दिवसीय शिक्षक प्रशिक्षण कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले पछिल्लो समय महिलाहरुको संख्यामा पनि वृद्धि हँुदै गएको समेत बताए ।
झापामा अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा सहसचिव न्यौपानेले काठमाडौं, सुनसरी, कास्की, मोरङ र पाँचौं नम्बरमा झापामा धेरै लागूऔषध प्रयोगकर्ता रहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापा तथा जिल्ला शिक्षा कार्यालय झापाको समन्वयमा भएको कार्यक्रममा सहसचिव न्यौपानेले लागूऔषध प्रयोगकर्ता समाजका अपराधी भएको बताए । उनले खुल्ला सीमानाका कारण लागूऔषध प्रयोगकर्ता न्यूनीकरणमा समस्या भएको तथा विद्यालय उमेर समूहका विद्यार्थी दुव्यर्सनमा फस्ने भएकाले शिक्षकहरु चनाखो हुनुपर्ने बताए । उनले बालबालिकाको प्रयोग गरेर लागूऔषध ओसारपसार हुने भएकाले शिक्षकले विद्यार्थीको निगरानी गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) पिताम्बर अधिकारीले झापामा १२–२५ वर्ष उमेर समूहका मानिस लागूऔषधको क्षेत्रमा धेरै रहेको बताए । उनले मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ मध्ये ९५ प्रतिशत लागूऔषध प्रयोगकर्ता झापामा रहेको जानकारी दिए । मेची अञ्चलमा प्रहरीले सचेतनामूलक कार्यक्रम गरिरहेको भन्दै उनले अञ्चल प्रहरी कार्यालयले सबै विद्यालयमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउने कार्यक्रम शुरु गरेको बताए । उनले लागूऔषध प्रयोगमा बालबालिकाको प्रयोग बढेको र उनीहरुलाई कानूनी कारबाही गर्न पनि नमिल्ने भएकाले साना खालका अपराधमा वृद्धि भएको बताए । अभिभावक र शिक्षकहरुले नानीहरुको ब्यवहारमा ख्याल गर्नुपर्ने एसएसपी अधिकारीले बताए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, प्रहरी उपरीक्षक शैलेश थापा(क्षेत्री), इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक केशव थेवे, नेपाल शिक्षक महासंघ झापा अध्यक्ष तेजप्रसाद चौलागाँई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी प्रअ तथा शिक्षकहरुले आ–आफ्नो विद्यालयको बारेमा जानकारी गराउँदै लागूऔषध नियन्त्रणको विषयमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर