Aamsanchar

एक नम्बर प्रदेशमा सबैभन्दा बढी मतदाता मोरङमा

Author Image
शनिवार, जेठ ६, २०७४

विराटनगरः

क्षेत्रीय निर्वाचन कार्यालय मोरङले प्रदेश नम्बर १ सहित साविक पूर्वाञ्चलका १६ जिल्लाका मतदाताको विवरण सार्वजनिक गरेको छ। कार्यालयले प्रदेश नम्बर २ का सप्तरी र सिराहाको समेत समाहित गरिएको मतदाता विवरण प्रदेश १ मै समावेश गरी शनिबार सार्वजनिक गरेको हो।

नयाँ विवरणअनुसार साविक पूर्वाञ्चलमा मतदाता संख्या ३३ लाख ३७ हजार ६ सय २१ जना पुगेका छन्। जसमा १६ लाख ९२ हजार ८ सय ८१ पुरुष र १६ लाख ४४ हजार ७ सय १२ महिला छन्। क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले भन्नुभयो,‘३३ लाखभन्दा धेरै मतदाताले तीन उपमहानगरससहित ६३ नगरपालिका, एक सय ६ गाउँपालिकासमेत गरी एक सय ६९ स्थानीय तहमा प्रतिनिधि छनौट गर्न मतदान गर्नेछन्।’ सञ्जेलले मोरङ र सिराहामा सबैभन्दा धेरै १७–१७ स्थानीय तहमा निर्वाचन हुने बताउनु भयो।

नयाँ मतदाता विवरणअनुसार मोरङमा सबैभन्दा धेरै ५ लाख ६३ हजार ८ सय ७० जना मतदाता रहेका छन् भने सबैभन्दा थोरै तेह्रथुममा ६० हजार ७ सय ४ जना मतदाता रहेका छन्। स्थानीय तह पुर्नसंरचना आयोगले तेह्रथुममा जम्मा ६ स्थानीय तहमात्र कायम गरेको थियो। निर्वाचन कार्यालयको विवरणअनुसार मोरङपछि झापामा मतदाता संख्या धेरै छ। झापामा मतदाताको संख्या ५ लाख १० हजार २ सय १६ रहेको छ। झापापछि सुनसरीमा मतदाताको संख्या ४ लाख २१ ह्जार १ सय ५९ जना रहेका छन्। सिराहामा ३ लाख ३१ हजार ५ सय ९६ र सप्तरीमा ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता रहेका छन्।

कार्यालयका अनुसार इलामको दश तहमा १ लाख ८९ हजार ७४, उदयपुरको ८ स्थानीय तहमा १ लाख ७५ हजार ४ सय ६१, ओखलढुंगाका ८ तहमा ९१ हजार ५ सय ८, खोटाङमा १० स्थानीय तहमा १ लाख १५ हजार ६ सय ४४, ताप्लेजुङमा ७० हजार ७ सय ७८, धनकुटामा ७ तहमा ९५ हजार ३ सय ६७, पाँचथरमा ८ तहमा १ लाख १६ हजार ६ सय २६, भोजपुरमा ९ स्थानीय तहमा १ लाख ५ हजार ५ सय ५३, संखुवासभामा १० तहमा ९६ हजार ६ सय ५७ र सोलुखुम्बुमा ८ तहमा ६१ हजार ७ सय ४६ जना मतदाता रहेका छन्।

जेठ ३१ ग्ते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने तय भएको प्रदेश नम्बर १ मा ३ उपमहानगरसहित ४९ नगरपालिका, ८७ गाउँपालिका रहेका छन्। जसमा मतदाताको संख्या २६ लाख ७४ हजार ५ सय ५७ रहेको छ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)