Aamsanchar

अर्जुनधारामा व्यवसायिक भवन निर्माण हुँदै

Author Image
शनिवार, जेठ ६, २०७४

अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको शनिश्चरे बजारमा व्यवसायिक सटर भवन निर्माण हुने भएको छ ।
भवनको शुक्रबार शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा र भवन निर्माणको ठेक्का पाएको जे एण्ड जे कन्सट्रक्सन प्रा.लि.दमकका राजकुमार थापाले संयुक्तरुपमा भवनको शिलान्यास गरेका थिए ।
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेट र स्थानीय ३० जना व्यापारीबाट १ लाख ५० हजार रुपैयाँका दरले भाडावापत कटौती हुनेगरी जम्मा ४५ लाख रुपैयाँ संकलन गरिएको सो भवन निर्माण गर्न कूल लागत भ्याट बाहेक १ करोड ४० लाख ६७ हजार ४ सय ५४ रुपैयाँ ५२ पैसा रहेको नगरपालिकाका इञ्जिनियर निरज अधिकारीले जानकारी दिए ।
४९७.३६ वर्ग मिटरको क्षेत्रफलमा निर्माण हुने सो भवनमा महिला तथा पुरुषका लागि छुट्टै शौचालय, दुवैतर्फ ५–५ फिटको दुईवटा प्यासेजसहित ३२ वटा कोठा रहने बताइएको छ । हाल एक तलाको मात्र ठेक्का लागेको सो भवन चार तलासम्म बनाउन सकिने इञ्जिनियर अधिकारीले बताए ।
सिंगो बजारको व्यवस्थापन गरी बजारलाई सुन्दर बनाउने, अस्थाई टहराहरुमा सञ्चालन भइरहेको पसलहरुलाई व्यवस्थापन गर्ने अभियान, नगरपालिकाको आम्दानीको स्रोत वृद्धी गर्ने उद्देश्यले उक्त व्यवसायिक सटर भवन निर्माण हुन लागिरहेको नगरपालिकाका प्रमुख खतिवडाले बताए ।
कार्यक्रममा निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत, अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त सोमानी, एसीयन कराँते रेफ्री कुमार उप्रेती, एन्फाका राष्ट्रिय रेफ्री श्याम दनुवार, मनास्लु युवा क्लबका अध्यक्ष मनोज गोम्देन, शनिश्चरे प्रहरी चौकी प्रमुख असई गंगा थापा लगायतको आतिथ्य रहेको थियो ।
गत चैत ३० गते सम्झौता भए अनुसार १४ महिनाभित्र भवन निर्माणको कार्य सम्पन्न हुनुपर्ने बताइएको छ ।

Views: 112

प्रतिक्रिया (०)