Aamsanchar

निर्वाचन शान्तिपूर्ण गर्ने प्रतिबद्धता

Author Image
सोमवार, जेठ ८, २०७४

झापा।

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन झापामा शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने बिषयमा आइतवार सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन गर्न सर्वदलीय निर्वाचन सहयोग व्यवस्थापन समिति समेत गठन गरेको छ ।
प्रजिअ खत्रीको संयोजकत्वमा गठित समितिमा झापामा रहेको सबै राजनीतिक दलका अध्यक्ष तथा संयोजकहरु सदस्य रहने व्यवस्था गरिएको छ । बैठकमा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा संयोजकहरु, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरु, प्रहरी प्रशासन, सेना, मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रजिअ खत्रीले शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिने जानकारी दिए । त्यस अवसरमा निर्वाचन कार्यालयका प्रमुख गोपाल अर्यालले निर्वाचन केन्द्रको व्यवस्थापन, उम्मेदवारले गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराए ।
त्यसैगरी मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले सबै दल लगायत सरकारी कार्यालय र सञ्चारमाध्यमलाई समेत आचारसंहिता पालना गर्न आग्रह गरे । झापाका १५ स्थानीय निकायमा २८३ निर्वाचन क्षेत्र, ६३७ मतदान केन्द्र रहेका छन् भने ५ लाख १० हजार दुई सय १६ मतदाता रहेका छन् । निर्वाचन कार्यालय झापामा ३१ वटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।
यसैबीच शान्तिपूर्ण र भयरहीत निर्वाचन सम्पन गर्ने बसेको सोही बैठक मा उपस्थित मधेशी मोर्चासहित, राष्ट्रिय जनता पार्टीका संयोजक सूर्यनारायण गणेशले आफ्नो पार्टीका लागि निर्वाचनमा भाग लिने वातावरण नभएको भन्दै आफ्नो पार्टीले निर्वाचन बहिष्कार गर्ने र हुन नदिने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।
छलफलमा संवाद समूहको तर्फबाट सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले विभिन्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)