Aamsanchar

जयपुरमा क्लबस्तरीय फुटबल प्रतियोगिता तयारी

Author Image
मङ्गलवार, जेठ ९, २०७४

अर्जुनधारा।

झापाको बुद्धशान्ति गाँउपालिका–२ स्थित जयपुरमा प्रथम लक्ष्मीदेवी ओली–बसुन्धरा गौतम स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।
जयपुर युथक्लबको आयोजनामा भोलि जेठ १० गतेदेखि प्रतियोगिता शुरु हुने सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।  स्थानीय आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा आयोजक जयपुर युथक्लबसहित मुनाल फुटबल क्लब (चन्द्रगढी), गोधुली फुटबल क्लब (धाइजन), जेनियम फुटबल क्लब (धुलाबारी), सुरुङ्गा फुटबल क्लब (सुरुङ्गा), झिलझिले फुटबल क्लब (झिलझिले), बिर्तामोड युनाइटेड क्लब (बिर्तामोड) र सैनिक युथक्लब(सैनिक)को सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ३० र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक उद्वव ओलीले जानकारी दिए । प्रतियोगिताबाट अनुमानित ४ लाख ५० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको र ३ लाख रुपैयाँ खर्च हुने संयोजक ओलीले बताए । ‘बचत भएको रकम खेलकुद क्षेत्रको विकासमा लगानी गर्नेछौं’– उनले भने ।
त्यसैगरी विजेताको नगद पुरस्कार लक्ष्मीदेवी ओली र बसुन्धरा गौतमको परिवारबाट र उपविजेताको नगद पुरस्कार अर्जुनधारा नगरपालिकास्थित कुरुम्वाङ होलो ब्लक उद्योगका सञ्चालक मणि राईले उपलब्ध गराउने प्रतियोगिताका सहसंयोजक चन्द्रप्रसाद गौतमले बताए । प्रत्येक खेलको म्यान अफ दी म्याच, म्यान अफ दी टुर्नामेन्ट घोषीत खेलाडीहरुलाई पुरस्कृत गरिने प्रतियोगिता अन्तर्गत सेमिफाइनल र फाइनल खेलमा २० रुपैयाँको दरले प्रवेश शुल्क लिइने बताइएको छ ।
प्रतियोगिताको संयोजक ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नवज्योती युवाक्लबका उपाध्यक्ष दिलीप श्रेष्ठ, सञ्चारकर्मी उमाकान्त खनाल लगायतले बोलेका थिए । आगामी वर्षमा पनि निरन्तरता दिइने प्रतियोगिताको उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका पूर्व खेलाडीहरुलाई सम्मान गरिने बताइएको छ ।
सोही कार्यक्रममा नवज्योती युवाक्लब जयपुरको आयोजनामा हुँदै आएको नवज्योती च्यालेन्ज नकआउट फुटबल प्रतियोगिताको सातौं संस्करण आगामी मंसिरमा हुने क्लबका सचिव गोपाल पोखरेलले घोषणा गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रतियोगिताका सहसंयोजक चन्द्रप्रसाद गौतम र नवज्योती युवाक्लबका सचिव गोपाल पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर