Aamsanchar

दमकका ४ निजी विद्यालय मापदण्ड विपरीत सञ्चालनमा

Author Image
बिहिवार, जेठ ११, २०७४

बिर्तामोड।

झापाको दमकमा रहेका केही निजी विद्यालय मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालय झापा, प्याब्सन, एनप्याब्सन, विद्यार्थी संगठनका प्रतिनिधि, इस्टु र सञ्चारकर्मी सम्मिलित टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालको नेतृत्वमा गएको टोलीले पाँचवटा विद्यालयमा अनुगमन गरेको थियो ।
सो क्रममा ग्लोबल एजुकेशन एकाडेमी दमक, गायत्री विद्यापीठ, सिद्धार्थ बोर्डिङ स्कूल, रोजिस्ट ब्राइट इङ्लिस स्कूलले मापदण्ड विपरीत विद्यालयमा पाठ्यपुस्तकसहितका शैक्षिक सामग्री विक्री वितरण गर्ने गरेको पाइएको जिल्ला शिक्षा अधिकारी बरालले बताए ।
विद्यालयमा स्टेशनरी सामग्रीको विक्री वितरण पूर्ण रुपमा बन्देज छ तर यी विद्यालयले विद्यालयको हाताभित्रै कपी, कलम, विद्यालय पोशाक, टाइबेल्ट विक्री वितरण गरिरहेको अनुगमनका क्रममा पाइयो । जिशिअ बरालले भने– अनुगमन गरिएको विद्यालय भन्ने रोजिस्ट ब्राइट इङ्लिस स्कूल कक्षा ७सम्म अनुमति लिएर कक्षा ९सम्म सञ्चालन गरिरहेको पाइयो । बिना स्वीकृति कक्षा सञ्चालन गरिएका दुई वटा कक्षा तत्काल बन्द गर्न निर्देशन दिइएको विद्यालय निरीक्षक सुरेन्द्र दाहालले बताए ।
अनुगमन गरिएका अन्य विद्यालयमा राखिएका स्टेशनरी सामग्री एक साताभित्र हटाउन लिखित निर्देशन दिएको समेत बताइएको छ । अनुगमनका क्रममा विद्यालयले शुल्क बृद्धि गरेको तर शिक्षकको तलब भने सो अनुपातमा नबढाएको बताइएको छ । विद्यार्थीलाई छात्रबृत्ति समेत नदिइएको र विद्यार्थीलाई कक्षा उत्तीर्ण हुँदा हरेक बर्ष प्रवेश शुल्कका नाममा मोटो रकम लिने गरिएको पाइएको थियो । शिक्षक नियुक्ति गर्दा कुनै पनि विद्यालयले शिक्षकलाई नियुक्ति पत्र नदिएकाले नियुक्ति पत्र दिन समेत विद्यालयलाई निर्देशन दिएको थियो । टोलीले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षकलाई नियुक्ति गरेर मात्र विद्यालयमा राख्न निर्देशन दिएको थियो । अनुगमन टोलीले दमकमा रहेको झापा मोडल इङ्लिस स्कूलको समेत अनुगमन गरेको थियो ।
अनुगमनमा जिल्ला शिक्षा कार्यालय झापाकी लेखा अधिकृत बिनीता पोखरेल, विद्यालय निरीक्षक दाहाल, प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेल, इस्टु झापा अध्यक्ष होमराज खतिवडा, एनप्याब्सन झापाका पूर्व अध्यक्ष जयबहादुर श्रेष्ठ, एनप्याब्सन झापाका उपाध्यक्ष अग्नि कोइराला, नेपाल विद्यार्थी संघका राजेन्द्र उप्रेती, अखिल क्रान्तिकारीका रवि बस्नेत, क्रान्तिकारीका जिल्ला अध्यक्ष कुमार खतिवडा लगायतको सहभागिता थियो ।
विद्यालयमा स्टेशनरी सामग्री र विद्यालय पोशाकको बिक्री वितरण रोक्नुपर्ने विद्यार्थी संगठनका पदाधिकारीले बताएका छन् । अनुगमनका क्रममा उनीहरुले विद्यालयका प्रिन्सिपललाई विद्यालयमा व्यापार नगर्न सुझाव समेत दिएका थिए ।

Views: 134

प्रतिक्रिया (०)