Aamsanchar

कुलो भत्काइदिएपछि गाउँ अन्धकार

Author Image
शुक्रवार, जेठ १२, २०७४

तेह्रथुम।

आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको कुलो स्थानीय जग्गाधनी लक्ष्मी सुनारले भत्काइदिएका हुन् । कुलो भत्किएपछि दुई दिनदेखि आयोजनाको उत्पादन ठप्प छ । विद्युत् अवरुद्ध भएपछि गाउँका २०० परिवार अन्धकारमा बस्न बाध्य भएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताउनुभयो ।

सुनारले कुलोबाट पानी बग्दा आफ्नो जग्गामा पहिरो गएको भन्दै पटक पटक गुनासो गर्दै आएका थिए । बुधबार उनले आयोजनाको करिब १० मिटर कुलो भत्काइदिएका छन् । सुनार पाँचथरको फिदिममा व्यवसाय सञ्चालन गरेर बस्छन् ।

आयोजनाको कुलोमा क्षति पु¥याउने व्यक्तिलाई छानबिन गरी कानुनी कारबाहीको माग गर्दै उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारमा उजुरी गरिएको समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । विसं २०६४ मा निर्माण भएको परियोजनाको कुलो उपभोक्ता समितिले भने सरकारी जग्गामा पर्ने दाबी गरेको छ ।

केही साताअघि वर्षा र बाढीले क्षति गरेको आयोजनामा साता दिनसम्म लगाएर स्थानीयवासीले श्रमदानसमेत गरेर बनाएका थिए ।

Views: 151

प्रतिक्रिया (०)