बिर्तामोड, जेठ १३। देशकै दोस्रो पुरानो नगरपालिका झापा भद्रपुरमा मेयर पदको प्रतिष्पर्धामा एक स्वतन्त्रसहित मुख्य चार राजनीतिक दलका पाँचजना मैदानमा उत्रिएका छन् ।
उपमेयरमा पनि पाँच जना नै प्रतिष्पर्धामा देखिएका छन् । अगत पार्टीका मेयर तथा उपमेयर पदका सबै उम्मेदवारले प्रस्तुत गरेका चुनावी एजेण्डा भने साझा देखिएका छन् । सवैको एजेण्डा भद्रपुरलाई समृद्ध नगर बनाउने रहेको छ ।

भद्रपुर नगरपालिकाको मेयर पदका विभिन्न पार्टीका उम्मेद्वारहरु । फोटो : विनोद पाण्डे(कमल) /आमसंचार

संवाद समूह झापाले बिर्तामोडस्थित सचिवालयलाई आज शनिबार ‘तपाईंको उम्मेदवारी, जनअपेक्षा र चुनौति’ विषयमा गरेको छलफलमा उनीहरुले भद्रपुरको विकासका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक सहभागिता र व्यवस्थितरुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिकासहितका ६ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट भद्रपुर नगरपालिकाको लागि मेयर पदका उम्मेदवार गणेश पोखरेल, नेकपा एमालेका तर्फबाट मेयर जीवन श्रेष्ठ, उपमेयर चन्द्रा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर शिवकुमार राजभण्डारी, उपमेयर कुमारी स्वर्णिका सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर नवराज पनेरु राजु र उपमेयर राधा कार्की, स्वतन्त्र रुपमा मेयरका उम्मेदवार दुर्गा भट्टराईले आफ्ना चुनावी एजेण्डासहित प्रतिबद्धता जनाएका हुन् ।
कांग्रेसको तर्फबाट उपमेयरमा भने तारा भुर्तेल र स्वतन्त्रबाट उपमेयरमा गोपाल धमला चुनावी मैदानमा देखिएका छन् ।
भद्रपुरका उम्मेदवारहरुले व्यक्त गरेको प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् । त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडकभडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ ।
त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
भद्रपुरका सबै उम्मेदवारले मेची पुल, चारआली–केचना सडक, हुलाकी सडक यथाशीघ्र निर्माण सम्पन्न, मेची अञ्चल अस्पताललाई समेत सुविधा सम्पन्न बनाउने तथा कलवलगुडीमा टिचिङ हस्पिटल स्थापनाका लागि जोडतोडले पहल गर्ने एजेण्डा अघि सारेका छन् । उनीहरुले अघि सारेका पछाडि पारिएका समुदाय, गरीब सुकुम्बासी, हात्तीको समस्या समाधान, औद्योगिक र पर्यटकीय नगरी, स्वास्थ्य र शिक्षामा सहज पहँुच, खानेपानी, सडक, र विद्युत्लाई घर–घरमा पुर्याउने लगायतका एजेण्डाहरु समेत साझा देखिएका छन् ।
उम्मेदवारहरुले भ्रष्टचारविरुद्ध शून्य सहनशीलताको विकासलाई पनि जोडतोडका साथ उठाएका छन् ।
भाषा संस्कृति संरक्षण तथा संवद्र्धन, मेची नदी तटबन्ध, मानव वेचविखन नियन्त्रण, रंगशालालाई आधुनिक सुविधायुक्त, व्यवसायिक कृषि विकास, एयरपोर्टलाई नाइटभिजनसहित सेवा विस्तार,गरीब लक्षित कार्यक्रम, सुशासन कायम, रोजगारी सिर्जना जस्ता एजेण्डा पनि भद्रपुरका उम्मेदवारले समेटेका छन् ।
Views: 139

