झापा ।

मानवीय सेवामा उत्कृष्ट योगदान पु¥याउने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतसहित झापाका १० जना गणतन्त्र दिवसको अवसरमा विभिन्न पदकबाट विभुषित भएका छन् ।
दशौं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गरेकी हुन् । ढकाल र वस्नेत समाजसेवा रत्न पदकबाट विभुषित भएका हुन् । त्यस्तै दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, सशस्त्र प्रहरीवल पाथीभरण गणका प्रहरी उपरीक्षक प्रेम पोखरेल प्रवल जनसेवा श्री पदकबाट विभुषित भएका हुन् ।
राष्ट्रिय अनुसन्धान विभाग झापाका केशवसिंह विष्ट, सुरेन्द्र कोइराला, सशस्त्र प्रहरी वल काँकरभिट्टाका प्रहरी निरीक्षक मोहनबहादुर देवकोटा प्रवल जनसेवा श्री पदकबाट विभुषित भएका हुन् ।
यसैगरी कालीबहादुर गण चारआलीका प्रमुख सेनानी सरोज अधिकारी महापौरख भाष्कर मान पदवीबाट विभुषित भएका हुन् । यसैगरी विल्सनबिक्रम राई (तोक्मे बुढो) र भद्रपुरका दीनबन्धु अग्रवाल (दीनाबाबु) प्रबल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।
विभुषित हुने ढकाल झापाको मेचीनगर नगरपालिका–१४ साविक दुवागढी–७ निवासी हुन् । उनी २०४८ सालदेखि नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएर निरन्तर सामाजिक कार्यमा लागेका छन् । उनको कार्यकालमा नेपाल रेडक्रस सोसाइटी देशकै उत्कृष्ट शाखाको रुपमा उभिएको छ । दोस्रो कार्यकाल सभापति बनेका ढकाल आठ वर्षदेखि सभापति पदमा रहेर सेवारत् छन् । विभिन्न सामाजिक संघ–संस्था, मानवअधिकार सम्बन्धी संस्था र शिक्षक, पत्रकार लगायतका संगठनको नेतृत्व समेत सम्हाल्दै उनी सामाजिक सेवामा तल्लीन छन् । उनी सीके चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।
यता बिर्तामोड निवासी बस्नेत पूर्ण–टुङ्ग विर्तासिटी हस्पिटलका अध्यक्ष हुन् । उनी जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान, नेपाली लेखक संघ झापाका समेत अध्यक्ष हुन् । उनी विभिन्न संघ–संस्थामा आवद्ध छन् ।

