बिर्तामोड। 

४ प्रदेशमा हुने भनिएको निर्वाचन तेस्रोपटक सरेको २४ घण्टा नबित्दै पुनः निर्वाचन सार्ने तयारीले जिल्ला तहका दल, कार्यकर्ता र मतदातामा अन्यौल बढेको छ । यसका कराण उनीहरुको निर्वाचनप्रतिको उत्साह पनि घट्न थालेको छ ।
सरकारले सोमवार असार ९ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त मितिमा मुस्लिमहरुको इदउल फित्र पर्व परेपछि पुनः निर्वाचनको मिति असार १४ गते गर्ने बारेमा राजनीतिक दलहरुबीच छलफल चलेको छ । निर्वाचन मिति बारे बढ्दो अन्यौलले झापाका मतदाता निराश भएका छन् । सरकारले मधेसी मोर्चा आबद्ध दललाई समेत निर्वाचनमा सहभागी गराएर चुनाव गराउने भन्दै मिति सारेपछि झापाका मतदातामा निराशा छाएको हो ।
झण्डै दुई दशकपछि हुन लागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशामा बसेका मतदाता फेरि चुनाव अनिश्चित बनेको भन्दै निराश देखिएका हुन् । लामो समयको पर्खाइपछि जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो कि भन्ने चिन्ताले सताएको बिर्तामोडका मतदाता यादव घिमिरेले बताए ।
मतदाता मात्रै नभई यहाँका राजनीतिक दलका नेता पनि अन्यौलमै छन् । निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ । चुनावको मिति सरेपछि प्रचारप्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको उम्मेदवारहरुले बताएका छन् ।
भोट हाल्न आतुर देखिएका मतदाता सरकारले पटक–पटक निर्वाचनको मिति सार्ने गरेकाले आफूहरु अन्यौलमा परेको झापा गाँउपालिकाका सरोज भण्डारीले बताए । उनले गाउँ–गाउँमा चुनावी माहोल तातिसकेको भए पनि अब भने जनता निराश बन्दै गएको बताए । उनले कतै निर्वाचन नै नहुने हो कि भन्दै शंका ब्यक्त गरे ।
सरकार मिति सार्नमा व्यस्त
देशभर बैशाख ३१ गते निर्वाचनको घोषणा गरेको सरकारले मधेसवादी दललाई पनि निर्वाचनमा सहभागी गराउने भन्दै एक महिनापछि सारेको थियो । यस अनुसार पहिलो चरणमा ३ वटा प्रदेशका ३४ जिल्लाको निर्वाचन गराएको सरकारले ४ वटा प्रदेशका ४३ जिल्लाको निर्वाचन जेठ ३१ हुँदै जेठ १५को मन्त्रिपरिषद् बैठकबाट असार ९ गते निर्वाचनको मिति तोकेको थियो ।

त्यसको २४ घण्टा नबित्दै पुनः असार १४ गते निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । यद्यपि अन्तिम निर्णय भने आज बुधवार बस्नेत मन्त्री परिषद्को बैठकले गर्ने बताइएको छ ।
अन्नको जोहो गर्ने कि भोट हाल्ने ?
सरकारले वैशाख ३१ गते गर्ने भनेको स्थानीय निकायको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ मा भने जेठ ३१ गते पु¥याएको थियो । तर सरकारले पुनः निर्वाचनको मिति असार १४ गते तोकेपछि किसानले भने अन्नको जोहो गर्ने कि भोट हाल्न जाने भन्दै सरकारको कदमप्रति आक्रोश व्यक्त गरे ।
असारको धमाधममा ‘मानो रोपेर मुरी फलाउने’ बेलामा नेताहरुलाई भोट हाल्न जाने फुर्सद आफूहरुसँग नहुने भन्दै यो विषयमा सरकारले चासो नदिएको कमल गाउँपालिकाका पदम प्रसाईंले बताए ।
किसानहरुलाई मल, वीऊ तथा विभिन्न सुविधा दिएर सहयोग गर्नुको सट्टा सरकारले पटक–पटक निर्वाचनको मिति सार्दै मध्य बर्खामा पु¥याएर धान रोप्न समेत नदिएको प्रसाईंले आरोप लगाए ।
चुनावी गीतको रौनक
सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन सम्बन्धी गीतहरु युट्युवहरुमा आउन थालेका थिए । अहिले तिनै गीत गाउँ–शहर सबै तिर घन्किन थालेको छ । मतदाता आफ्नो पार्टीको निर्वाचन सम्बन्धी गीत घन्काउँदै मतदाताको घर–घरमा भोट माग्न व्यस्त देखिएका छन् ।
बिर्तामोडका अधिकांश स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले चुनावी गीत घन्काउँदै मतदाताहरुको घर आँगन चाहार्ने काम गरिरहेका छन् ।
उम्मेदवारलाई खर्च बढ्ने चिन्ता
सरकारले पटक–पटक निर्वाचनको मिति सारेपछि विभिन्न दलको उम्मेदवार बनेर भोट माग्न व्यस्त उम्मेदवार खर्च बढ्ने भन्दै चिन्तित बनेका छन् ।
चुनावी माहोल तातेर गइरहेका बेला सरकारले निर्वाचनको मिति सारेपछि खर्च बढ्ने भएको विभिन्न दलका उम्मेदवारहरुले बताएका छन् । चुनावी गतिविधि रोक्न नहुने भएकाले खर्च बढे पनि अब घरदैलो अभियान नरोकिने नेताहरुले बताएका छन् ।
मौसमको चिन्ता
सरकारले मध्य बर्खामा निर्वाचनको मिति सारेपछि मतदाता भन्दा उम्मेदवारलाई कतै मौसमले गर्दा मतदाता भोट हाल्न नआउने हुन् कि ! भन्ने चिन्ताले सताएको छ ।

शहरमा भन्दा गाउँ–गाउँमा मतदाता धेरै रहेको र धान रोप्ने समय पनि भएको तथा असारमा मनसुन पनि सक्रिय हुने भएकाले मतदानमा जनता सहभागी नहुने भन्दै चिन्ता शुरु भएको छ ।

