Aamsanchar

मेची पुल दशैंपछि पूरा हुने

Author Image
बुधवार, जेठ १७, २०७४

भद्रपुर।

असारको दोस्रो साताभित्र नदीमा बाढी नआए भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन पक्की पुल दशैंपछि निर्माण सम्पन्न हुनेछ ।
पुलको ९० प्रतिशत कार्य निर्माण भइसकेकोले आउँदो दशैंपछि पुलमाथिबाट गाडी गुडउने निर्माण कम्पनीले दावी गरेको छ । निर्माणाधीन पुलको १७ वटा पिलर मध्ये १० र ११ नम्बरको पिलर माटो मुनि धसाउने क्रममा बाङ्गिएको थियो । पिलर बाङ्गिएपछि डेढ बर्षअघि सडक विभाग, हुलाकी राजमार्ग आयोजनाले दुई वटा पिलरको रिडिजाईन शुरु गरेका थिए ।

स्थानीय र राजनीतिक दलको दवावपछि रि–डिजाइनको आधिकारिक पत्र निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनलाई यही बैशाख २९ गते प्राप्त भएको हो । पत्र पाएको केही दिनमै ठप्प बनेको निर्माण कार्यले तीव्रता पाएको छ । अहिले बाङ्गिएको दुई वटा पिलरको काम धमाधम भइरहेको छ । १५ वटा पिलरको काम सकिसकेको छ, त्यसमाथि गडर राखेर पुलमाथि ढलाइ भइसकेको छ । जेठ मसान्त भित्र पिलरको सम्पूर्ण काम सक्ने इञ्जिनियर सुरेन्द्र खतिवडाले बताए ।
तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते पुलको शिलान्यास गर्दै तीन बर्षभित्र पुल निर्माण हुने दावी गरेका थिए । तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर ८ बर्षमा पूरा हुन लागेको छ ।
नेपाल–भारत जोड्ने पुलको कूल लागत करिब ३३ करोड रहेको छ । पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर रहेको छ । भद्रपुर लगायत दक्षिणी झापाबासीको सात दशकको अथक संघर्ष पश्चात पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि स्थानीय जनता पुल भएर नदी तर्न आतुर देखिएका छन् । यस निर्माणाधीन मेची पुलले सुस्ताएको भद्रपुर नगरसहित दक्षिणी झापाबासीमा आर्थिक क्रान्ति ल्याउने सम्भावना बलियो छ ।
यो पुलले भारतको बंगाल र बिहार राज्यलाई जोड्नुका साथै बंगलादेशको बोर्डरको दुरी पनि नजिक पार्ने छ । भद्रपुर र गलगलिया नाकासँग जोडिएको यस पुलले दुई देशका सीमा क्षेत्रको विकासलाई पनि जोड्ने छ । मेची नदीमा पुल नबन्दा अहिले दुवै देशका नागरिक अस्थायी बाँसे पुल, राँगा गाडी, डुङ्गाको सहाराले नदी तर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर