Aamsanchar

नेपाली भाषामाथि अतिक्रमणको विरोधमा दार्जिलिङका स्कुल बन्द

Author Image
बिहिवार, जेठ १८, २०७४

दार्जिलिङ:

भारतको पश्चिम बङ्गाल सरकारले नेपाली भाषामाथि अतिक्रमण गरेको भन्दै विरोधमा दार्जिलिङका सम्पूर्ण स्कुलहरू दुई दिन बन्दको आह्वान गरिएको छ। जुन १ र २ तारिखका दिन यहाँका स्कुल बन्दको आह्वान गरिएको हो।

नेपाली भाषामाथि अतिक्रमणविरुद्ध मंगलबार यहाँ आयोजित समीक्षासभामा यो निर्णय लिइएको हो। सभामा लिइएको निर्णयअनुसार आउँदो ४ देखि ८ जुनसम्म हरेक दिन विरोध ऱ्याली पनि निकालिनेछ।

विरोध ऱ्याली यहाँको घुम रेलवे स्टेशनदेखि चोकबजारसम्म पुग्नेछ, जसलाई दार्जिलिङ पहाडको सत्तारूढ दल गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङले नेतृत्व गर्नेछन्। पश्चिम बङ्गाल सरकारले दार्जिलिङ पहाडका सम्पूर्ण स्कुलहरूमा बङ्गला भाषालाई पहिलो कक्षादेखि दशौँ कक्षासम्म अनिवार्य बनाइने घोषणा गरेपछि नेपाली भाषामाथि राज्य सरकारको अतिक्रमणविरुद्ध अहिले दार्जिलिङ पहाड आन्दोलित बनेको छ।

यो घोषणाको आधिकारिक जानकारी र निर्देशन नआए पनि राज्यकी मुख्यमन्त्री ममता बनर्जीले पटक पटक दार्जिलिङ पहाडका सम्पूर्ण स्कुलहरूमा बङ्गला भाषा अनिवार्य गरिने बताइरहेकी छन्। सन् १९७२ मै पश्चिम बङ्गाल राज्यमा दोस्रो सरकारी भाषाको रूपमा स्वीकारिएको नेपाली भाषामाथि राज्यको यस्तो अतिक्रमणले यहाँका राजनीतिक पार्टी, साहित्यिक वर्ग, सङ्घसंस्थाहरूले विरोधमा आवाज उठाइरहेका छन्।

यता, १ र २ जुनको स्कुल बन्दको आह्वानलाई लिएर यहाँको प्रशासन कठोर बनेको छ। जबर्जस्ती बन्द गर्न नपाइने र विद्यार्थीहरूलाई ऱ्यालीमा सहभागी गराउन नदिने प्रशासनले स्पष्ट बताइसकेको छ।थाहा खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर