काठमाडौँ ।
नेपाली औषधि उत्पादक सङ्घले औषधि उत्पादनका लागि आवश्यक कच्चापदार्थ एक वर्षसम्मका लागि मौज्दात रहेको जनाएको छ ।
केही सञ्चारमाध्यममा १५ दिनमा देशभर औषधि अभाव हुने भन्ने समाचार आएपछि नेपाल औषधि उत्पादक सङ्घले ९० दिनलाई पुग्ने कच्चापदार्थ नेपाली उत्पादकसँग रहेको स्पष्ट पारेको हो ।
आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष शङ्कर घिमिरेले कुनै पनि विशेष औषधिको माग भएको अवस्थामा उपलब्ध गराउन सकिने स्पष्ट गर्दै औषधिको अभाव नहुने दाबी गर्नुभएको छ ।
औषधि अभावबारे समाचार आएलगत्तै बसेको सङ्घको आकस्मिक बैठकमा भूकम्प र नाकाबन्दीको समयमा समेत देशभर औषधि अभाव हुन नदिएको पृष्ठभूमि स्मरण गराउँदै सरकारले चाहेका बेलामा कुनै पनि किसिम र प्रकारका औषधि उपलब्ध गराउन सक्षम रहेको सङ्घले जनाएको छ ।
औषधि अभाव हुने समस्या सरोकारवाला निकाय र आम उपभोक्तामा भ्रम सिर्जना भएकाले भ्रममा नर्पन अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।
सङ्घले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाको नियमबमोजिम नेपाल सरकारबाट बोलपत्रमा माग भएका औषधि पनि आपूर्ति गर्दै आएको जनाएको छ ।