Aamsanchar

‘ए लेभल’ कोर्ष पूर्वमै पहिलोपटक बिराटनगरमा

Author Image
बिहिवार, जेठ २५, २०७४

बिर्तामाड ।

विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन (यूरो कलेज)ले प्रदेश नं. १मै पहिलोपटक ‘ए लेभल’ कोर्षको अध्ययन अध्यापन शुरु गरेको छ ।
कलेजले बुधवार विर्तामोडस्थित होटल रिसवमा पत्रकार भेटघाटको आयोजना गरी सो कुराका जानकारी दिएको हो । एसईई (एसएलसी) वा सो सरहपछि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश गराउनु पूर्वको शिक्षा ए लेभल भएको बताउँदै कलेजका ए लेभल इञ्चार्ज रमेश निरौलाले यो कोर्ष नेपालको १०+२ सरहको पाठ्यक्रम भएको बताए । यो तह उत्तीर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै पनि विश्वविद्यालयमा स्नातक तहको अध्ययनको लागि आवेदन दिन पाउने बताइएको छ ।
यसअघि ए लेभलको कोर्ष गर्न विद्यार्थीले राजधानी तथा भारत लगायतका देश पुग्नुपर्ने बाध्यता थियो । पूर्वबाट मात्र बार्षिक तीन सयको हाराहारीमा विद्यार्थी ए लेभल कोर्ष गर्नका लागि काठमाडौं पुग्ने गरेको बताइन्छ । त्यहाँ विभिन्न विषयमा उक्त कोर्ष पूरा गर्न ५ लाखदेखि २५ लाखसम्म खर्च हुने अनुमान छ । विराटनगरमा युरो कलेजले पहिलोपटक शुरु गरेको ए लेभल कोर्ष पूरा गर्नका लागि भने विषय अनुसार ४ देखि ६ लाख रुपैयाँसम्म लाग्ने कलेजका प्रोग्राम कोअर्डिनेटर मनिष चौधरीले जानकारी दिए ।
उक्त कलेजमा आगामी जुन १८ बाट अध्ययन अध्यापन शुरु हुने बताइएको छ । ६० जना विद्यार्थी सिट क्षमता रहेको सो कलेजमा भर्ना हुने विद्यार्थीका लागि अहिले इन्ट्रान्स लिने कार्य भइरहेको कलेजका एकेडेमिक कोअर्डिनेटर रोशन भुजेलले बताए । युरो कलेजले शुरु गरेको ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेशन बोर्ड (सीआईई)ले चलाउने जनरल सर्टिफिकेट अफ एजुकेशन (जिसिई) को शैक्षिक कार्यक्रम हो ।
यसको अन्तर्राष्ट्रिय ख्यातिले विद्यार्थीलाई विश्वको राम्रो कलेजमा भर्ना तथा छात्रबृत्ति पाउन सजिलो र सम्भव हुने बताइन्छ । ‘ए लेभल कोर्षमा जनरल पेपर(अंग्रेजी) बाहेक आफूलाई मनपरेको विषय रोजेर पढ्न पाइन्छ’– कलेजका ए लेभल इञ्चार्ज निरौलाले भने– ‘यो कोर्ष सेमीनार, छलफल, प्रयोगशाला विधि, प्रोजेक्ट वर्क, प्रतिवेदन लेखन, अनुसन्धान र समसामयिक विषयको अध्ययन अध्यापनमा आधारित हुन्छ ।’
युरो कलेजले ए लेभलका कोर्षहरु मध्ये १८ वटा विषयमा अध्यापन शुरु गरेको बताइएको छ । विश्वको एक सय ६० देशमा पढाइ हुने ए लेभल कोर्ष अध्ययन गर्ने विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाउने हुनाले उनीहरुलाई कुनै पनि ठाउँमा गएर थप अध्ययनको ढोका खोल्ने निरौलाले बताए । उनका अनुसार यसको परीक्षा र ग्रेडिङ प्रणाली विश्वभर एउटै मापदण्डको हुन्छ । त्यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली सबै क्याम्ब्रिज विश्व विद्यालयले तय गर्ने बताइएको छ । युरो कलेजमा अनुभवी अध्यापकहरुद्वारा अध्यापन गराइने बताउँदै प्रोग्राम कोअर्डिनेटर चौधरीले भने– ‘अब ए लेभल कोर्ष अध्ययनकै लागि राजधानी पुग्नुपर्ने पूर्वका विद्यार्थीको बाध्यता समाप्त भएको छ ।’
प्रत्येक बर्ष मे÷जुन र अक्टोबर÷नोभेम्बर गरी बर्षको २ पटक विश्वभरि नै एकैपटक परीक्षा सञ्चालन हुने र नतिजा पनि सोही अनुसार एकै साथ अगस्ट र जनवरीमा प्रकाशन हुने बताइएको छ । ‘एसईई (एसएलसी) पछि आफ्नो सुनौलो भविष्यको निम्ति हरेक विद्यार्थी उत्कृष्ट शिक्षाको खोजीमा हुन्छन् । आफ्नै क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको अभावले पूर्वाञ्चलवासी हरेक बर्ष काठमाडौं जानुपर्ने बाध्यता थियो’– युरो कलेज ए लेभल इञ्चार्ज निरौलाले भने–‘यही विषयलाई मध्यनगर गरी पूर्वमै पहिलोपटक युरो कलेज विराटनगरले विश्वकै उत्कृष्ट मानिएको क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल कोर्ष सञ्चालन गरेको छ । अनि यो कोर्ष अध्ययन गर्न काठमाडौं नै जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।’ युरो कलेज १२ बर्षदेखि सोही क्षेत्रमा लागेका दक्ष र अनुभवीहरुले सञ्चालनमा ल्याएका हुन् ।

Views: 156

प्रतिक्रिया (०)