Aamsanchar

झापामा अनुमति बिनै गाडी चलाउँदै उम्मेदवार

Author Image
बिहिवार, जेठ २५, २०७४

बिर्तामोड ।

स्थानीय निकायको निर्वाचनका लागि दल तथा तिनका उम्मेदवारले चुनाव प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति लिएर प्रयोग गर्नुपर्ने स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख छ ।
तर, झापामा कुनै राजनीतिक दल तथा तिनको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका व्यक्तिले चुनाव प्रचारप्रसारका लागि आफूले प्रयोग गर्ने सवारी साधनको अनुमति लिएका छैनन् । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन उम्मेदवार बनेका दलका प्रतिनिधिले अहिले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएका छन् । तर, आफूले प्रयोग गर्ने सवारीको भने अनुमति नै लिएका छैनन् ।
कानूनतः प्रमुख तथा उपप्रमुखसहितको पदका लागि उम्मेदवार बनेका पदाधिकारीले चुनाव प्रचारप्रसारका क्रममा हलुका चारपाङ्ग्रे एउटा र दुईपाङ्ग्रे दुईवटा सवारीसाधन प्रयोग गर्न पाउने उल्लेख छ । तर, झापाका १५ वटै स्थानीय तहमा उम्मेदवार बनेका व्यक्तिले हुलका हुल सवारीसाधन बिना अनुमति सञ्चालन गरिरहेका छन् ।
अनुमति नलिएका सवारीसाधनमा चुनाव प्रचारप्रसारमा हिँड्दा दलको झण्डासमेत राख्न नपाइने आचारसंहितामा उल्लेख छ । तर, गाउँदेखि शहरसम्मै मोटरसाइकल, साइकल, सिटी रिक्सा, ट्याक्सी लगायत ठूला सवारीमा समेत झण्डा राखेर उम्मेदवार, दलका नेता तथा कार्यकर्ता हिँड्ने गरेका छन् ।
जुन क्षेत्रका लागि उम्मेदवार बनेको हो, उम्मेदवारले सोही क्षेत्रका निर्वाचन अधिकृतसँग चुनाव अगावै चुनाव प्रसारप्रसारका लागि आफूले प्रयोग गर्ने सवारीसाधनको विवरणसहित अनुमति लिइसक्नुपर्ने प्रावधान भए पनि अनुमति नलिइ सवारीमा प्रचारप्रसारका सामग्री राखेर घरदैलो अभियान झापामा सञ्चालन भइरहेको छ ।
पटक–पटक निर्वाचनको मिति सरेसँगै दलका पदाधिकारीले उम्मेदवारी घोषणा र चुनाव प्रचारप्रसारलाई तीव्र बनाएसँगै घरदैलो अभियानमा आचारसंहिता विपरीत चुनाव प्रसारप्रसारका सामग्री राखेर मतदाता फकाइरहेका छन् ।
भेष्ट, टि–सर्टमा कुनै पनि पार्टीको चुनाव चिन्ह अंकित गरेर चुनाव प्रचारप्रसारमा हिँड्न नपाइने आचारसंहितामा भनिएको छ । तर, चुनाव प्रचारप्रसारमा हिँंडेका दल र दलका कार्यकता, नेता तथा उम्मेदवारले नियम विपरीत आफ्नो पार्टीको चुनाव चिन्ह अंकित भेष्ट, क्याप, टि–सर्ट बाँड्दै मतदाता फकाइरहेका छन् ।
उम्मेदवारको टुंगो लागिनसकेको अवस्थामा समेत चुनाव प्रचारप्रसारमा हिँड्दा पार्टीले सम्बन्धित निर्वाचन अधिकृतबाट प्रयोग गरिने सवारीसाधनको अनुमति लिनुपर्ने बताउँछन् – जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्य । झापामा कुनै पनि दल र तिनका कार्यकर्ताले चुनाव प्रचारप्रसारका लागि निर्वाचन अधिकृतसँग अनुमति लिएका छैनन् भन्दै उनले भने– अहिले १५ वटै स्थानीय तहका लागि उम्मेदवार बनेकाहरुले बिना अनुमति चुनाव प्रचारप्रसारका लागि भन्दै धेरै सवारी प्रयोग गरिरहेको हामीले सुनेका छौं, यो सरासर गलत हो ।
सार्वजनिक स्थानमा कुनै पनि दलको चुनाव चिन्ह अंकित पोष्टर, व्यानर र स्टिकर टाँस्न पाइँदैन तर अहिले गाउँ गाउँका चौकदेखि शहरकामा गल्ली–गल्लीमा निर्वाचन आचार संहिता विपरीत चुनाव प्रचारप्रसारका सामग्री राखेर विरुप बनाएको बताउँछन्– आचार्य ।
म यो पार्टीबाट उम्मेदवार बनँे भनेर अहिले जिल्ला निर्वाचन कार्यालय झापामा कोही उम्मेदवार आएका छैनन्, यस्तो अवस्थामा हामीले उनीहरुलाई केही भनेका छैनौं । ‘आचारसंहिता उल्लंघन भएको देखी–देखी पनि हामी चुपचाप हुनुपर्ने अवस्था छ’– आचार्यले भने– उम्मेदवारी दर्तापछि कडाइका निर्वाचन आचारसंहिता लागू गर्छौं ।
सुरक्षा मागेनन् उम्मेदवारले
स्थानीय निकायको निर्वाचनका लागि झापामा कुनै पनि उम्मेदवारले सुरक्षाको माग गरेका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले उम्मेदवारले हामीलाई सुरक्षा चाहियो भन्दै प्रशासन समक्ष केही पनि नआएको बताए । उनले भने– ‘म असुरक्षित भएँ भन्दै कुनै पनि उम्मेदवार हामी कहाँ आएका छैनन् ।
असार १४ गते हुने निर्वाचनबाट झापामा सात सय २३ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । आठ नगरपालिका र सात गाउँपालिकाबाट उनीहरु चुनिन लागेका हुन् । पाँच लाख १० हजार दुई सय १६ जना मतदाता रहेको झापामा मतदान केन्द्र ६ सय ३७ छ भने मतदान स्थल दुई सय ८३ रहेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत आचार्यले बताए ।
मतदातामध्ये महिलाको संख्या बढी छ । निर्वाचन कार्यालयको तथ्यांक अनुसार झापामा दुई लाख ५६ हजार सात सय ५८ जना महिला र दुई लाख ५३ हजार चार सय १५ जना पुरुष मतदाता छन् । त्यस्तै तीन जना तेस्रो लिङ्गी मतदाता रहेको बताइएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले ११, १२ र १३ गते जिल्लाका सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।
जसका लागि नागरिकता वा परिचयपत्र खुल्ने कागजात अनिवार्य लिएर जानुपर्ने निर्वाचन अधिकारी आचार्यले बताए । उनले भने– काका, मामा, भाञ्जाभाञ्जीको म नै लान्छु भन्दै मतदाता परिचयपत्र लान पाइँदैन । सम्बन्धित व्यक्ति वा परिवारका कुनै एक सदस्यले नागरिकता वा परिचय खुल्ने कागजात लिएर मात्रै मतदाता परिचयपत्र लान सक्नेछन् ।
झापाका १५ स्थानमा हुने निर्वाचनका लागि तीन हजार आठ सय १९ सय जना कर्मचारी एक हजार नौ सय आठ जना स्वयम्सेवक गरी पाँच हजार सात सय २७ जना जनशक्ति परिचालन गरेर शान्तिपूर्ण, भयरहीत ढंगले निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृत आचार्यले बताए ।

Views: 127

प्रतिक्रिया (०)