[चन्द्रकान्त ढकाल]
केवल पढ्नुमात्र त्यति महत्वपूर्ण कुरा होइन, पढाईबाट जीवनलाई सार्थक बनाउन सक्नु र जीवनको सर्वोत्तम उपलब्धी हासिल गर्ने कुरा जान्नु र सोही बाटोमा हिंड्ने प्रेरणा प्राप्त गर्नु चाहिँ महत्वपूर्ण कुरा हो । छोटो गरी भन्नुपर्दा कुनै पनि कुराको बारेमा जान्नु बुझ्नुलाई अध्ययन भनिन्छ । हामी हेरेर, सुनेर, सुँघेर, स्वाद लिएर छामेर विषयलाई बुझ्ने र जान्ने गर्दछौं । हामीले अध्ययन गर्दा होस् वा कुनै काम गर्दा होस् यो काम गर्नुको कारण के हो ? जान्न जरुरी छ ।

जब हामीले उक्त कुरा थाह पाउँछौं अनि हामीलाई यसको महत्व र उचाईको बारेमा स्पष्ट हुन्छ र यसबाट के लाभ हुन्छ थाह लाग्छ । कुनै पनि विषयलाई पढ्न बुझ्न र दिमागमा राख्नका लागि हामी एकै किसिमले काम गरिरहेका छौं भने र यसबाट खासै उपलब्धि भएको छैन भने हामीले तरिका बदल्नु पर्दछ । हामी एकोहोरो एउटै तरिकाले काम गरिरहेका छौं भने हामीलाई दिक्क लागिरहेको हुनसक्छ र हाम्रो दिमागको थकाईले हाम्रा इन्द्रीयका कार्यहरुलाई पनि कमजोर बनाइदिन्छन् ।
हामीले नानी÷बाबुहरुलाई पढ्न लेख्न सिकाउँदा होस् वा अन्य जीवन उपयोगी कलाहरु सिकाउँदा एकैप्रकारको कार्यशैलीले गर्नु उपयुक्त हुँदैन । मान्छेले कुनै पनि कुरा राम्ररी बुझ्ने र जान्ने आफ्नै किसिमको कार्यशैली हुन्छ । उनीहरुले आफ्नै किसिमले आफ्नो कार्यशैलीलाई कलात्मक बनाउँछन् । उनीहरुले रमाइलो मान्दै आफ्नो सीपमा कला भर्छन् र यही माध्यमबाट सिकाइको नयाँशैलीको वैज्ञानिकता पत्ता लगाउँछन् । त्यसैले विद्वानहरुले पढ्नुलाई कला भनेका छन् । त्यतिमात्र होइन, पढ्नु भनेको कला मात्र नभएर विज्ञान हो भनेका छन् ।
पढ्दा वा कुनै काम जान्न÷बुझ्न चाहँदा हाम्रोसामू धेरै कठिनाईहरु आउँछन् । यी समस्याहरु कहिलेकाहीँ यति जटिल हुन्छन् कि हामी त्यसको छेउ टुप्पो नपाएर हैरान हुन्छौं । र, हाम्रो जान्ने÷बुझ्ने ढोकाहरु बन्द गर्न हामी मञ्जुर हुन्छौं र हामी त्यही अडिन पुग्छौं । यो विद्यार्थीहरुको लागि एक डरलाग्दो विन्दु हो । यही विन्दुमा धेरै प्रतिशत विद्यार्थीहरु अडिन्छन् र त्यहीबाट अगाडि बढ्न डराउँछन् । एउटा सानो कुराको अज्ञानताले उनीहरुलाई अवरोधको मूलगेटमा पुर्याई दिन्छ ।

तर, यसरी अवरोधहरु आउँदैमा हामीले अध्ययनलाई छोड्नु हुँदैन यस्तो अप्ठ्यारो परेमा हामीले विश्वका महान हस्तीहरु अवरोधलाई कसरी छिचोल्थे उनीहरुको जीवनी पढेर बुझ्न सक्छौं र त्यसबाट प्रेरणा लिन सक्छौं । यही प्रेरणाबाट हामी गुमिसकेको जीवनलाई हरियालीमा परिणत गर्न सक्छौं । यो कुरा पढाइमा मात्र होइन जीवनका हरेक पक्षमा र हरेक उमेर, पेशा र व्यवसायका मानिसको जीवनमा पनि लागू हुन्छ । त्यसैले पनि जीवनलाई सार्थकता बनाउन हामी सबैले पढ्नु पर्छ ।
यदि कुनै पनि नानी÷बाबुहरुका अभिभावक श्रमशील, नियमित, कुशल र विचारशील पनि छन् भने उनीहरुले दक्षतापूर्वक निर्णय गर्न सक्छन् कि नानी÷बाबुहरुलाई कस्तो शिक्षा दिने । कुशल अभिभावकले नानी÷बाबुहरुलाई हेरविचार गरेर अनि औपचारिक शिक्षामात्र दिएर हुँदैन । उनीहरुलाई विभिन्न क्रियाकलापद्वारा मानसिक शक्तिलाई अदितीय ढंगबाट विकसित गराउन सक्नुपर्छ । एउटा बच्चालाई असल बनाउनु छ र त्यो कला आफूसँग छैन भने ती बाबु–आमा र शिक्षकले राम्ररी यति कुरा बुझ्नु पर्छ कि औपचारिक शिक्षाले मात्र हाम्रा नानीबाबुहरु पूर्ण हुन सक्दैनन् । यसका लागि अभिभावकहरुले नानीहरुलाई असल बनाउने कला बुझेका, जानेका मानिसहरुसँग परामर्श र ज्ञान लिन वा उनीहरुको परामर्शका लागि केही समय आफ्ना बाबु÷नानीहरुलाई त्यो वातावरणमा पुर्याउनु पर्छ । यस लेख मार्फत धेरै कुरा यहाँ राख्न नसकिने हुँदा केही बुँदा मात्र यहाँ उल्लेख गरिएको छ ।
हाम्रो चाहना आफ्ना नानी÷बाबुहरुलाई तेजस्वी र विद्वान बनाउने नै हो यसमा दुईमत पक्कै छैन । यसका लागि हामीले आफ्ना छोराछोरीलाई यो जिम्मेवारी दिनसक्छौं कि उनले आफ्नो घरका वा छिमेकका आफूभन्दा साना सदस्यहरुलाई असल बनाउने प्रयत्न गरुन् मनिटरीङ्ग गरुन यसबाट उनलाई एउटा असल मान्छे बनाउने जिम्मेवारीको बोध, नेतृत्व गर्ने कलाको विकास र स्वयम् असल बन्नै पर्ने बाध्यात्मक मनोवैज्ञानिक दवाब पर्छ र सानैदेखि जिम्मेवारी समझदारी र इमान्दारिताको समानुपातिक विकास हुँदै जान्छ ।
घरलाई विश्व विद्यालय बनाऔं किनकी एउटा बच्चाले घरको सानो कोठामानै संसारका महान हस्तीहरुको जीवन पढ्न र उनले गरेको महान कार्यको नालीबेली जान्न सकुन् । उनलाई विद्यालयको भीडमा सिक्न जति सजिलो हुन्छ त्यो भन्दा धेरैगुणा छिटो र प्रष्ट गरी बुझ्न उनलाई घरको वातावरण नै राम्रो हुन्छ ।
सानैमा हामीले आफ्नो आत्माको तारलाई तन्काएर बाध्न सकेका छौं भने समय आएपछि त्यसमा सजिलै संगीत भर्न सक्छौं । त्यसैले सानैदेखि छोराछोरीहरुलाई आत्म विश्वासले भरिभराउ बनाउने काम हामीले गर्नुपर्छ । र, उनका जीवन सञ्चालनको क्रममा हरेक पक्षका तारहरु मजबुत बनाउने पहिलो काम हामी अभिभावकको हो । साँच्चै भन्ने हो भने विद्यालयमा बच्चाहरुको पढाई सोचेजस्तो सही तरिकाले हुन सक्दैन किनकी त्यहाँ ४०÷५० जनालाई एकै ठाउँमा राखेर एकैप्रकारको शिक्षा दिइन्छ ।

त्यहाँ प्रत्येक व्यक्तिको फरक–फरक रुची अनुसार फरक–फरक ढंगले शिक्षा दिन चाहेर पनि सम्भव हुँदैन । तथापि त्यहाँ एकैपटकमा धेरै व्यक्तिलाई सामुहिक रुपले विषयमा शिक्षित गर्न सकिन्छ त्यो राम्रो कुरा हो । यसको अर्थ यो होइन कि विद्यालयमा पढाइ हुँदैन । त्यहाँ अवश्य राम्रो शिक्षा हुन्छ । तर, फरक र छुट्टै किसिमको व्यक्तित्व विकासका लागि त्यहाँ पर्याप्त वातावरण नहुन सक्छ । अतः आफ्नो नानीलाई उनीहरुको चाहना अनुसार शिक्षा दिने उचित ठाउँ घर नै हो । त्यसैले भनिन्छ, घर मानिसका लागि पहिलो पाठशाला हो । तर, यतिमात्र होइन साच्चै भन्ने हो भने घर मानिसको विश्व विद्यालय हो र नानी÷बाबुका लागि आमा–बुबा र घरपरिवारका सदस्य उसको जीवन दर्शनका मूल शिक्षक पनि हुन् ।
एउटा आत्मविश्वासी लगनशील र उत्साही सन्तान कुनै पनि अभिभावकका लागि वरदान हो । त्यो वरदान उसले आफूलाई आफैं दिनसक्छ । यदि आफ्नो सन्तानको व्यक्तित्व तिखो र आचरण अनुशासित छ भने उसलाई प्रगति गर्न अन्य औजारहरुको त्यति आवश्यकता पर्दैन । हामीले यति कुरा बुझेका छौं र हाम्रा सन्तान यस्तै छन् भने हाम्रो चाहनाको आधारशीला करिब–करिब खडा भइसकेको छ । नैतिक र विधिशास्त्रको ठिक–ठिक जानकारीले मानिसलाई एक उच्च स्थानमा पुग्ने आधारशीला खडा गर्नसक्छ । ती कुरा जानेपछि हामीले त्यो शिक्षा साना नानीहरुलाई उचित समयमा दिन सक्नुपर्छ र दिनैपर्छ । यदि हामी जानेर पनि अल्छी गर्छौं भने हामी आफैं बेकम्मा हुनेछौं ।
पहिलो पाइलाबाट नै हामी जीवनको सर्वोच्च शिखरमा पुग्ने भएको हुँदा हामीले अहिले धेरै तल छौं भनेर कहिल्यै सोच्नु हुँदैन । यही कुरा हामीले आफ्ना नानीहरुलाई ठिक समयमा ठिकसँगले बुझाउन सक्नुपर्छ । यसो भन्दैमा समय गुज्रिएपछि हाम्रा नानी÷बाबुहरु असभ्य र बेकम्मा हुँदै गर्दा त्यहाँबाट असल बनाउन सकिँदैन भन्ने होइन । एउटा असल शिक्षक र असल अभिभावकले कारणबस बिग्रिएका र असभ्य भएका नानीहरु छन् भने तीनलाई सभ्य बनाउन सक्छन् । बुद्धिमानहरुले सभ्य र राम्रोलाई अझ सभ्य र राम्रो बनाउने मात्र होइन, खराब र असभ्यलाई असल र सभ्य बनाउन जान्दछन् र जान्नुपर्छ ।
हामीले हाम्रा नानी÷बाबुहरुलाई योग्य बनाएर काम खोजी खान सक्ने मात्र बनाउने सपना बुनेका छौं भने त्यो अति राम्रो कुरा होइन । हामीले त उनीहरुलाई दुनियाका योग्य र सक्षमहरुलाई आफ्नो योग्यताले नयाँ अवसरहरु उपलब्ध गराईदिने क्षमता राख्नसक्ने बनाउनु पर्छ । र, अयोग्यहरुलाई पनि योग्य र सक्षम बनाउन सक्ने बनाउनु पर्छ ।
नानीहरुलाई संसारका महान व्यक्तिहरुको जीवनी पढ्न दिनुहोस् । उनीहरुलाई कुनै विभूतिहरुको जीवनीले स्पर्श गर्नेछ र जीवनको सत्यताको बोध हुनेछ र जीवनमा नयाँ फूर्ति पैदा गरिदिनेछ । अनि जीवनको बाहिर र भित्रीपक्षको बीच कसरी सन्तुलन मिलाउने र सुन्दर जीवन जिउने थाह हुन्छ । समग्रमा भन्नुपर्दा पढ्नु केवल डिग्री हासिल गर्नमात्र नभएर जीवनलाई उन्नत र समग्रतामा सभ्य र सुन्दर बनाउन हुनुपर्छ । मानव सभ्यतालाई एक उच्चस्तरमा पुर्याउन र जीवनको वास्ताविक सत्य र मनको शान्तिमा स्थीर गराउन सक्ने बन्नमा नै पढाइको लक्ष्य हुनुपर्छ । त्यो उद्देश्य पूरा गर्न नै हामीले पढ्नुपर्छ सिक्नु र जान्नुपर्छ ।



