Aamsanchar

गर्मी बढ्यो, सावधानी अपनाउन आग्रह

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

(नरेन्द्र ढकाल)

बिर्तामोड।

केही दिनदेखि झापामा गर्मी बढेसंगै जनजीवन प्रभावित भएको छ । झापामा आइतबार तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
आइतबार यहाँको तापक्रम ३६ डिग्री रहेको भद्रपुर एयरपोर्टका प्रमुख पूर्ण चुडालले जानकारी दिए । यस वर्ष आइतबार सबैभन्दा बढी तापक्रम मापन भएको चुडालले बताए । पानी नपर्ने हो भने तापक्रम बढ्ने क्रम जारी रहने अनुमान गरिएको छ । गर्मी बढेसँगै झापाको जनजीवन पनि नराम्ररी प्रभावित हुन थालेको छ ।
गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेंगु, हेपाटाइटिस लगायतका बिरामी बढ्ने भएकाले सावधानी अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सबैसँग आग्रह गरेको छ । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडोको मौसममा भन्दा धेरै किसिमका इन्फ्ल्युएञ्जा भाइरल रोगले सताउने भएकाले यो समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए । यो समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा समेत सचेत हुनुपर्ने उनको भनाइ छ ।
गर्मीमा सबैभन्दा बढी भाइरल फिबर, झाडापखाला र छालासम्बन्धी रोगका बिरामी हुने कोइरालाले बताए । गर्मीको समयमा पानीमा हुने प्रदूषणले बढी झाडापखाला र छालामा हुने समस्याका बिरामी धेरै हुने र यो बेला सबैले सचेतना अपनाउनु पर्ने उनले उल्लेख गरे । गर्मीको शुरुवातसँगै झाडापखाला, टाइफाइड लगायत सर्पको टोकाइले हुने विरामीको संख्या बढ्न सक्ने अनुमान गरेर जनस्वास्थ्य कार्यालयले सबै स्वास्थ्य संस्थामा औषधि र चिकित्सक तयारी अवस्थामा राखेको जनस्वास्थ्य प्रमुख कोइरालाले जानकारी दिए ।
गर्मी मौसममा बढी हावा चल्ने भएकाले पनि हावाले उडाएर ल्याउने धुलोका कारण छाला र आँखामा समस्या देखा पर्ने भएकाले चश्मा लगाएर हिँड्डुल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । गर्मी मौसममा धेरैजसो बालबालिका र वृद्धवृद्धा प्रभावित हुन्छन् । त्यस्तै स्थानीय निकायको निर्वाचन नजिकिएसंगै उम्मेदवार घरदैलो अभियानमा रहेकाले दलका कार्यकर्ता तथा नेताहरुलाई पनि गर्मीले प्रभावित बनाएको छ । गर्मीका कारण मजदुरहरु बढी प्रभावित हुने गरेका छन् । चर्को घामका कारण काम गर्न समस्या भएको उनीहरुले बताए ।
यसैबीच अत्यधिक गर्मीका कारण बढी जसो चिसो खानेकुराहरु खाने गरिएकाले बालबालिकामा यसको छिटो असर पर्ने हुनाले चिसोले लाग्ने रोग समेत देखा पर्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा बान्ता आउने तथा झाडापखाला लाग्ने कारण खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी, बजारमा काटेर राखिएका फलफूल नधोई खान नहुने चिकित्सकहरुले बताएका छन् । पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिने जनस्वास्थ्य प्रमुख कोइरालाले बताए ।
गर्मी समयमा हल्का, खुकुलो र छरितो लुगा, सनग्लास, घामबाट छालाको सुरक्षा गर्ने क्रिम आदिको प्रयोग गर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् । घाममा छाता ओडेर हिँड्ने, सकेसम्म पिउने पानी आफैँसँग बोकेर हिँड्ने जस्ता उपाय अपनाएर पनि गर्मीमा लाग्ने रोगबाट बच्न सकिने जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाको भनाइ छ ।
अत्यधिक गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महशुस हुने, बान्ता आउने, टाउको दुख्ने तथा झाडापखालाजस्ता लक्षणहरू देखिन सक्ने भएकाले यस्तो अवस्थामा दिनमा चार–पाँच लिटर पानी वा अन्य झोल पदार्थ जस्तै, जीवनजल, तरकारी, दालको झोल पिउन उनले सुझाव समेत दिएका छन् ।

Views: 280

प्रतिक्रिया (०)