बिर्तामोड।
नेकपा एमाले बिर्तामोड नगरपालिका वडा नं. १ले स्थानीय तहको चुनावलाई लक्षित गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । सोमवार पत्रकार भेटघाटको आयोजना गरी वडा कमिटीले उम्मेदवारहरुको उपस्थितिमा उक्त प्रतिबद्धता सार्वजनिक गरेको हो । पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक स्व. मदन ढकालको नाममा ‘मदन पुस्तकालय स्थापना’सहितका विभिन्न कार्यक्रम प्रतिबद्धता–पत्र मार्फत सार्वजनिक गरिएको छ ।
एमाले जिल्ला कमिटी सदस्य एकराज कार्कीले उक्त प्रतिबद्धता सार्वजनिक गर्दै निर्वाचित भएको अवस्थामा एमालेका उम्मेदवारले व्यक्त गरेका प्रतिबद्धता पूरा नगरे जनताले कान समातेर उठबस गराउन सक्ने बताए । उनले भने– ‘यो तमसुक हो, भोलि जनताले कठघरामा ठिङ्ग्याउने प्रमाण पनि यही भएकोले इमान्दारी साथ त्यसलाई पूरा गर्नुपर्छ ।’
पार्टीका अर्का जिल्ला सदस्य हरि ओझाले बिर्तामोड–१मा एमालेले सार्वजनिक गरेको प्रतिबद्धता जनताको कडी र उम्मेदवारको हतकडी भएको बताए ।
वडा अध्यक्षका उम्मेदवार अग्निप्रसाद पाण्डेले उक्त प्रतिबद्धता पूरा गर्ने बताए । सदस्य पदका उम्मेदवार प्रेमकुमार खरेलले सञ्चालन गरेको कार्यक्रम गुरुप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो । बिर्तामोड–१बाट महिला सदस्यमा यमुना आचार्य, दलितबाट कमला महरा र सदस्यमा टीकाप्रसाद संग्रौला समेत उम्मेदवार छन् ।
प्रतिबद्धतामार्फत विकास निर्माणमा उपभोक्ताको सहभागिता, उत्कृष्ट गर्नेलाई पुरस्कार र भ्रष्टलाई दण्ड, युवाको रोजगारी, स्वस्थ जीवन–सुरक्षित धन, ज्येष्ठ नागरिकको सम्मान, पशुपन्छीको बीमा, फोहोर व्यवस्थापन, आफ्नो गाउँ–आफैं बनाऔं, विद्युतीकरण, बहुजातीय संस्कृति संरक्षण, महिला उद्यमी, प्रहरी कार्यालय स्थापना, व्यवस्थित बधशाला, अग्र्यानिक कृषि उत्पादन, चिल्ड्रेन पार्क जस्ता कार्यक्रम सार्वजनिक गरिएको थियो ।