Aamsanchar

सोलुखोला–दूधकोसी आयोजना निर्माणको जिम्मा इटालियन कम्पनीलाई

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

झापा।

निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो कूल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।
साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी को–अपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । उक्त जलविद्युत् आयोजनामा सहारा नेपाल (साकोस)सहित धेरैजना झापा तथा पूर्वका अन्य जिल्लाका उद्योगी, व्यवसायीहरुको सेयर लगानी रहेको छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत संरचना निर्माणका लागि रु. छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए । निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा गर्ने आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य शुरु हुनेछ ।
‘काम शुरु गरेको चार वर्षभित्र निर्माण कार्य सम्पन्न गछौं’ – पाठकले भने । आयोजना निर्माणका लागि ११ बैंकले रु. आठ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआइडिसिएल), राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक, सेन्चुरी कमर्सियल बैंक, सानिमा बैंक, एनआइडिसिएल डेभलपमेन्ट बैंक, सनराइज बैंक, प्रभु बैंक र सिभिल बैंकले लगानीको सम्झौता गरेका हुन् ।
आयोजनाको लागत रु. ११ अर्ब ८६ करोड रहेको छ । २७ प्रतिशत अर्थात् रु. तीन अर्ब २१ करोड प्रवद्र्धकले स्वपूँजीका रुपमा लगानी गर्दैछन् भने बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुनेगरी सेयर संरचना तयार गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु. १३ करोड ७९ लाख रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड आठ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर